काठमाडौं । अभिनेता नाजिर हुसेन अभिनीत बहुप्रतिक्षित चलचित्र ‘गुन्यो चोलो उर्फ ‘गुलाबी’को प्रदर्शन अब कात्तिक ९ मा रिलिज नहुने भएको छ ।
बिहीबार चलचित्रकी निर्देशक समुन्द्र भट्टले सामाजिक सञ्जालमार्फत चलचित्रको प्रदर्शन मिति स्थगित भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्, “हाम्रो चलचित्र गुन्यो चोलो विशेष तयारी गर्ने योजना भएकाले केही समयका लागि स्थगित भएको जानकारी गराउन चाहन्छौँ । हामीलाई तपाईंहरूले दिनुभएको माया र साथप्रति निकै आभारी छौँ ।” रिलिज मिति कहिलेको लागि सरेको भन्नेबारे भने उनले अहिले खुलाएकी छैनन् । रिलिज मितिसँगै एउटा ठूलो खुसीको खबर पनि सार्वजनिक गर्ने उनले बताएकी छन् ।
‘गुन्यो चोलो उर्फ ‘गुलाबी’को निर्माण टिमले केही समय अघि नाजिरको लुक्ससहितको पोस्टर सार्वजनिक गरेको थियो । नाजिरको उक्त ‘ट्रान्सवुमन लुक्स’ले चर्चा पाएको थियो । निर्देशक भट्टले र अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट र ‘दि स्काई ओसन इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्मित चलचित्रले पारलैंगिकताको कथालाई उठान गरेको छ । चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ । नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ ।
चलचित्रको सम्पूर्ण पोस्टप्रोडक्सनको काम नेपाल बाहिर गरिएको छ । चलचित्रमा हलिउडकी भ्वाइस आर्टिस्ट लिजा जेरार्डले स्वर दिएकी छिन् । ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन् । चलचित्रमा आकाश बुढाथोकी र भिभन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् । अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।