विश्वव्यापी जलवायु परिवर्तनका कारण खासगरी नेपाली जस्ता देशहरु मारमा परेका छन् । विकसित देशहरुले अत्यधिक कार्बन उत्सर्जन गर्दा त्यसको असर हिमाली क्षेत्रमा परेको हो । जलवायु परिवर्तन हुने क्रम रोकिएन भने नेपालका कैयौँ हिमताल फुट्ने र बाढीको प्रकोप निम्तिने निश्चित छ । हिमपहाडमा हिउँ जम्न सकेन भने भोलि नेपालका हिउँपहाड नाङ्गा पहाडमा रूपान्तरित हुने छन्, जसले गर्दा हजारौँ हिमतालको भविष्य समाप्त हुने छ । अनि कृषिका लागि चाहिने सिँचाइ, जलविद्युत्, पिउने पानीको अभाव भोलिको पुस्ताले भोग्नु पर्ने छ । केही वर्षदेखि नेपालको मौसमी चक्र नै असन्तुलित र अनिश्चित बनेको छ । पानी आवश्यक पर्ने समयमा पानीको अभाव हुन्छ । हिउँदमा पनि आवश्यक वर्षा हुन सकेन । यसले गर्दा अहिले काठमाडौँको मात्र होइन, नेपालका प्रत्येक ठाउँको तापक्रम बढेको छ । केही महिनाअघि नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरसले पनि नेपालमा जलवायु परिवर्तनले पारेका असरहरुको आफैले अवलोकन पनि गरेका थिए ।
‘एशियन पिपुल्स मुभमेण्ट अन डेब्ट एण्ड डेभलपमेण्ट (एपीडीडी)’ ले जलवायु न्यायका लागि आवाज उठाउँदै आएको छ । पाकिस्तान, बंगलादेश, नेपाल, भारत, इन्डोनेसिया, मलेसिया र फिलिपिन्स यस संस्थाका हिस्सा हुन् । एशियाका यी मुलुकहरुसँग समन्वय गरी अमेरिकाको न्युयोर्क शहरमा ‘समिट अफ द फ्युचर’, संयुक्त राष्ट्रसंघको महासभा र २९ औं जलवायु सम्मेलन आयोजना गरिएको छ । त्यसअघि विश्वका ५८ मुलुकमा ‘फसिल फ्युल’ को प्रयोग बन्द गर्न र जलवायु वित्तको न्यायपूर्ण भुक्तानीका लागि दबाब दिन विभिन्न मुलुकमा प्रदर्शन भइरहेको छ ।
यही कारण नेपालले जलवायु परिवर्तन रोक्न र क्षतिपूर्ति दिन माग गर्दै आएको छ । यसबीच, संयुक्त राष्ट्रसंघको ७९ औं महासभाको पूर्वसन्ध्यामा नेपालका जलवायु अभियन्ताहरुले ५० खर्ब डलर क्षतिपूर्ति माग गरेका छन् । विश्वका गरिब राष्ट्रहरुले जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा धेरै क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनीहरुले क्षतिपूर्ति उपलब्ध गराउन भनेका हुन् । जलवायुको नकारात्मक परिवर्तन देखिनुमा विकसित राष्ट्रहरु जिम्मेवार रहेको अभियन्ताहरुको भनाइ छ । उनीहरुका अनुसार किसानका आवाज र खाद्य उत्पादन क्षेत्रमा जलवायु परिवर्तनले निकै प्रभाव पारेको छ । नेपालबाट अहिले महासभामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली सहभागी छ । यो विश्वमञ्चमा नेपालले पनि क्षतिपूर्ति दाबी गर्न आवश्यक छ ।
जलवायु परिवर्तनले वातावरणीय प्रभाव, हिमताल पग्लने सम्भावना, महामारी, खडेरी जस्ता समस्याले नेपाललाई पिरोल्ने निश्चित छ, जसका लागि नेपाल जस्तो विकासोन्मुख देशले आफ्नो स्रोतसाधनले जलवायु परिवर्तनको एक प्रकारको प्रकोपलाई नियन्त्रण र सन्तुलन गर्न गाह्रो हुन्छ । त्यस्ता विषयमा अन्तर्राष्ट्रिय रूपमा गम्भीर कूटनीतिक पहल जरुरी छ । कूटनीतिक पहल गरी क्षतिपूर्ति लिने र जलवायु परिवर्तनको प्रभावलाई नियन्त्रण र सन्तुलित गर्ने पूर्वाधारको निर्माणमा अग्रसर हुनु् नै आजको आवश्यकता हो । जनधारणा साप्ताहिक