–निमकान्त पाण्डे
व्यापारीलाई मुनाफाकै चिन्ता र चासो हुन्छ, स्वाभाविक पनि हो । तर नेपालका अर्बपति व्यापारी नेपाली कांग्रेसका नेता विनोद चौधरी भने श्रीलंकामा पुगेर पनि विवादास्पद गतिविधिमा संलग्न हुने गरेको पुष्टि हुने गरी एउटा घटना सार्वजनिक भएको छ । चौधरीले श्रीलंकाका भगौडा राष्ट्रपतिलाई नेपालमा निम्त्याएपछि उनी आलोचित बनेका छन् । केही अनलाइन समाचारमाध्यमले चौधरी र श्रीलंकाका भगौडा राष्ट्रपति गोटाबाया राजपाक्षबीचको सम्बन्धमाथि प्रश्न उठाएका छन् ।
श्रीलंकामा सम्पन्न पछिल्लो निर्वाचन परिणामले कम्युनिष्ट नेता अनुरा कुमारा दिशानायकेलाई राष्ट्रपतिमा निर्वाचित गरेको छ । नेपालमा विवादित काममा चर्चा कमाएका चौधरीले भने श्रीलंकाका भगौडा राष्ट्रपतिसँग त्यस्तै विवादास्पद कामहरुमा लाभ लिन सम्बन्ध बनाएका हुनसक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । कम्युनिष्ट राष्ट्रपति विजयी हुनु र भगौडा राष्ट्रपतिसँग नेपाली अर्बपतिको विवादास्पद सम्बन्ध सतहमा देखापर्नुले चौधरीमाथि अर्को प्रश्न थपिएको छ ।
श्रीलंकाको आर्थिक संकटको कारक राजपाक्ष परिवारलाई मान्ने गरिन्छ । हुन पनि श्रीलंकामा लामो समयसम्म राजपाक्ष परिवारको नै हालिमुहाली रह्यो । राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्री र राज्यका अन्य उच्च निकायहरुमा राजपाक्ष परिवारका सदस्यहरु नै थिए । तर, एउटै परिवारको मुठ्ठीमा देशको बागडोर पुग्दा श्रीलंकाको अवस्था दिनानुदिन खस्किन थाल्यो । जनता आजित भएपछि सन् २०२२ मा ठूलो आन्दोलन भयो । त्यतिबेला राष्ट्रपति रहेका गोटाबाया र राजपाक्ष परिवार देशबाट भाग्न बाध्य भए ।
उनै गोटाबाया चौधरीको निमन्त्रणमा नेपाल आएका हुन् । यसले राजपाक्ष परिवारसँग चौधरी ग्रुपको नजिकको सम्बन्ध देखिन्छ । चौधरी समूहले श्रीलंकामा समेत विभिन्न क्षेत्रमा लगानी गरेको र उनलाई नेपाल भ्रमणका लागि यसअघिबाटै आग्रह गर्दै आएको थियो । तर, श्रीलंकामा चौधरी परिवारले गरेको लगानी पनि विवादास्पद छ । राजपाक्ष परिवारसँगको सम्बन्धबाट गैरकानुनी ढंगले लगानी गरेकोलगायत आरोप चौधरीमाथि श्रीलंकाका सञ्चारमाध्यमले नै लगाउँदै आएका छन् ।
चौधरी नेपालमा पनि उत्तिकै विवादास्पद व्यापारी हुन् । चौधरीको परिवारले नेपालको कानुन छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गरेको आईसीआईजेको प्यान्डोरा लिक्सका विवरणले खुलासा गरेको थियो । २०७८ सालमा सार्वजनिक प्यान्डोरा लिक्सका अनुसार नेपाली ‘कानुनका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने अर्बपति विनोद चौधरीसहित उनको परिवारका पाँच जनाले ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुकमा लगानी गरेको तथ्य फेला परेको थियो । विवरणअनुसार चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा ३, सिंगापुरमा १ र पनामामा १ कम्पनी दर्ता भएको खुलेको थियो ।
यस्तै, बाँसबारीको जग्गा प्रकरणमा पनि चौधरी परिवार मुछिएको छ । बाँसबारीको सरकारी जग्गा चौधरी परिवारले आफ्नो नाममा गरेको आरोप छ । यही प्रकरणमा विनोद चौधरीसँग प्रहरीको सीआईबीले बयान लिएको थियो । बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको थियो । विनोद चौधरी च्याम्पियन फुटवेयर लिमिटेडका शेयर धनी एवम् तत्कालीन सञ्चालक समिति सदस्य हुन् । सरकारी जग्गा गैरकानुनी रुपमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको खुलेपछि चौधरी पनि अनुसन्धानको दायरामा तानिएका थिए ।
नेपालका उद्योगी, व्यवसायीहरूको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघलाई विभाजन गर्नेसम्मका काम गरेको आरोप लागेका चौधरी विश्वका धनीहरूको सूचीमा उक्लिरहे पनि उनले चौधरीले नेपालमा तिर्ने आयकर र भ्याटको हिस्सा भने निकै कम हुने गरेको छ । तर पछिल्ला दिनमा राजनीतिक शक्तिको आडमा उनले कानुनबाटै उन्मुक्ति पाइरहेको पनि आरोप लाग्ने गरेको छ । उनै चौधरीको श्रीलंकालाई संकटमा पार्ने राजपाक्ष परिवारसँग सम्बन्ध देखिनु शंकास्पद देखिएको हो । कतै राजपाक्ष परिवारको अवैध लगानी नेपालमा पनि भएको हुनसक्ने आशंका अहिले विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका छन् ।
देशको कानुन र दायराभित्र रहेर गरिने कुनै पनि कारोबारलाई शंका गर्न पर्दैन । तर पटकपटक कानुन उल्लंघन गरेको आरोप लागेका, व्यापारिक गतिविधि शंकास्पद रहेको भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पनि विवादमा आएका व्यक्तिहरुको लगानी तथा कारोबारलाई सरकारले पनि नियमन गर्न आवश्यक छ । यस्तै, एउटा परिवार नै आर्थिकदेखि राजनीतिकसम्म हावी हुँदा श्रीलंकाको के अवस्था भयो ? यसलाई पनि मनन गर्न र नेपालमा पनि त्यस्तो अवस्था आउन नदिन ध्यान दिन आवश्यक छ । जनधारणा साप्ताहिक