काठमाडाैं । नेपालले एएफसी यू–२० एसियन कप छनोटमा उज्वेकिस्तानविरुद्ध ६–० को फराकिलो हार बेहोरेको छ ।
बुधबार न्यु ताइपेस्थित फु जेन क्याथोलिक युनिभर्सिटी रंगशालामा सम्पन्न खेलमा तुलनात्मकरूपमा बलियो टोली उज्वेकिस्तानविरुद्ध नेपालले खेल अवधिभर कमजोर प्रदर्शन गर्यो ।
खेलको १९औँ मिनेटमा सविन घिमिरे रातो कार्ड खाँदै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा समेटियो, जसको फाइदा उज्वेकिस्तानले उठाउन सफल भयाे ।
उज्वेकिस्तानले पहिलो र दोस्रो हाफमा तीन/तीन गोल गर्न सफल पनि भयाे । यो हारसँगै समूह ‘बी’ को नेपालको एसियन कप पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।
नेपालले तीन खेलबाट तीन अंक जोडेको छ । पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइलाई ३–१ ले हराएको थियो ।
लगातार दोस्रो खेल जितेको उज्वेकिस्तानले भने एसियन कपको यात्रा बलियो बनाएको छ । उज्वेकिस्तानले अब घरेलु टोली र बहराइनसँग खेल्न बाँकी छ । नेपालले अब बुधबार समूहको अन्तिम खेलमा बहराइनसँग खेल्ने तालिका छ ।