काठमाडाैं । कीर्तिपुर नगरपालिकाका स्थायी बासिन्दा ५० वर्षीय विनोद खड्गीकाे शव काभ्रेको पाँचखालमा मृत अवस्थामा फेला परेका छन् ।
पाँचखाल नगरपालिका-८ को ४८ किलो भन्ने ठाउँस्थित अरनिको राजमार्गको सडक छेउको झाडीमा खड्गीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीकाअनुसार खड्गीको मृत्युको कारण भने खुलेको छैन ।
सडक छेउको झाडीमा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको छ । सुरुमा मृतकको पहिचान नभएको र अनुसन्धान गर्दै जाँदा उक्त शव खड्गीको भएको खुलेको प्रहरीले जनाएको छ ।
कीर्तिपुर नगरपालिका-५ की शान्ति खड्गीले सोमबार उक्त शव आफ्ना पतिको भएको भनेर सनाखत गरेकी छन् । मृतक खड्गी यही असोज ५ गतेदेखि बेपत्ता भएका थिए ।
खड्गी बेपत्ता भएपछि उनका आफन्तले खोजीको लागि प्रहरी परिसर काठमाडौंमा हुलियासहित निवेदनसमेत दिएकाे प्रहरीले जनाएको छ ।