उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बुधबार चीनका उपप्रधानमन्त्री हे लिफेङसँग द्विपक्षीय भेट गरेका छन्। त्यस क्रममा मन्त्री पौडेलले लामो समयदेखि रहँदै आएको नेपाल – चीन सम्बन्धप्रति खुशी व्यक्त गर्दै द्विपक्षीय सहयोगलाई थप प्रगाढ बनाउन भएका सम्झौताको कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताए।
उनले पोखरा र भैरहवा विमानस्थलमा चिनियाँ सहरहरुबाट सोझो उडानका लागि आफ्ना चिनियाँ समकक्षीसँग आग्रह गरेका छन्।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार उपप्रधानमन्त्री पौडेलले केरुङ–काठमाडौं रेलमार्ग, टोखा–छहरे सुरुङमार्ग निर्माणलगायतका महत्वपूर्ण पूर्वाधार आयोजनाका बारेमा चिनियाँ उपप्रधानमन्त्रीसँग छलफल गरेका थिए। उनले किमाथाङ्का-हिले र हिल्सा-सुर्खेत-भुरिगाउँ सडक,; मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र दमक इन्डस्ट्रियल पार्कलगायतका क्षेत्रमा पनि आफ्ना समकक्षीसँग छलफल गरेका थिए। पौडेलले चीनका विभिन्न सहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा अन्तर्राष्ट्रिय उडानको सङ्ख्या बढाउनुपर्नेमा पनि जोड दिए।
बैठकमा चिनियाँ उपप्रधानमन्त्री हेले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन सम्झौताहरू कार्यान्वयनको महत्त्वलाई जोड दिए। उनले पूर्वाधार, यातायात र कनेक्टिभिटीलगायतका विकास आयोजनालाई तीव्रता दिने इच्छा पनि व्यक्त गरे। बैठकपछि पौडेलले ‘ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरम’ को उद्घाटन समारोहमा कनेक्टिभिटी, आर्थिक वृद्धि र जीवनको गुणस्तर बढाउन दिगो र भरपर्दो यातायात प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए। मन्त्री पौडेल बुधबार र बिहीबार आयोजना हुने ‘ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरम’ मा सहभागी हुन मंगलबार बेइजिङ पुगेका हुन्।