काठमाडौँ / संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन न्युयोर्क आएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्थानीय समयअनुसार आइतबार साँझ ५ बजे ‘साइडलाइन’ भेटवार्ता गर्ने भएका छन् ।
भारतका प्रधानमन्त्री मोदीसँग ‘साइडलाइन’मा द्विपक्षीय भेटवार्ताका लागि लामो समयदेखि गृहकार्य भए पनि भारतीय पक्षबाट शुक्रबार मात्र सकारात्मक सन्देश प्राप्त भएको हो ।
दुई प्रधानमन्त्रीबीच भेटवार्ता गराउन नेपाली पक्षले विभिन्न तहबाट पहल गरेको थियो । परराष्ट्रमन्त्री आरजु राणा देउवादेखि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा तथा नयाँदिल्लीस्थित नेपाली दूतावासलाई पनि परिचालन गरिएको थियो । प्रधानमन्त्री ओलीले ‘साइडलाइन’ भेटवार्ताको तयारीका लागि मन्त्री राणालाई नै निर्देशन दिएका थिए ।
ओली शुक्रबार राति न्युयोर्क उत्रनु केही घण्टाअघि मात्र भारतीय पक्षले द्विपक्षीय भेटवार्ताका लागि मोदी तयार रहेको सन्देश दिएको हो । ‘अन्यथा केही नभए भेटवार्ता हुने पक्का भयो,’ परराष्ट्रका एक अधिकारीले भने । भारतका प्रधानमन्त्री मोदी चार मुलुक (अमेरिका, भारत, जापान र अस्ट्रेलिया) को संगठन क्वाडको बैठकमा सहभागी हुन शुक्रबार नै अमेरिकाको विल्मिङटन आइसकेका छन् ।
उनी त्यहींबाट न्युयोर्क आउन लागेका हुन् । ओली चौथो पटक प्रधानमन्त्री भएपछि भारतीय समकक्षी मोदीसँग पहिलो भेटवार्ता हुन लागेको हो । यसअघि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनका दौरान ‘साइडलाइन’मा उनीहरूबीच भेटवार्ता हुने तय भएको थियो । तर भदौ १८ र १९ मा हुने भनिएको सम्मेलन थाइल्यान्डको नयाँ राजनीतिक उतारचढावका कारण स्थगित भयो । ओलीले पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा भारतबाट विदेश भ्रमण थालेका थिए । दोस्रो पटकको प्रधानमन्त्रित्वलगत्तै तेस्रो पटक नियुक्त भएपछि ओलीले तीन महिना मात्र सरकारको नेतृत्व गरेका थिए ।
त्यतिबेला उनले कुनै पनि मुलुकको भ्रमण गरेनन् । यस पटकको नियुक्तिपछि भने ओलीको विदेश भ्रमण न्युयोर्कमा आयोजित राष्ट्रसंघको महासभाबाटै थालनी भएको छ । ओलीलाई यस पटक भारतीय पक्षबाट औपचारिक भ्रमणको निमन्त्रणा पनि आएको छैन । ओलीले भने परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणका क्रममा मोदीलाई नेपाल भ्रमणको औपचारिक रूपमा निमन्त्रणा पठाएका थिए ।
२२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली युयोर्क आइपुगेका हुन् । परराष्ट्रका अनुसार प्रधानमन्त्री ओलीले ‘समिट अफ द फ्युचर’, ७९ औं महासभाको उच्चस्तरीय छलफल, ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ को उच्चस्तरीय सत्र र ‘सी लेभल राइज’ को उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
न्युयोर्कमै विभिन्न मुलुकका सांसदहरूलाई पेरिस सम्झौतासँग जोडिएर ‘फाइनान्सिङ द फ्युचर’ मा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले महासभालाई भने असोज १० मा सम्बोधन गर्नेछन् । उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायतसँग पनि भेटवार्ता गर्नेछन् ।