काठमाडौँ / सहकारी ठगेर फरार रहेकी राप्रपाकी सांसद गीता बस्नेतको पद ‘स्वास्थ्य उपचार’को नाममा जोगाइएको छ।
संविधानअनुसार संसदको लगातार दशवटा बैठकमा बिनासूचना अनुपस्थित हुने सांसदको पद खारेज हुने व्यवस्था छ। संविधानको धारा ८९ (घ) मा भनिएको छ, ‘(घ) निज सम्बन्धित सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा।’
नवलपुरको छिपछिपे सहकारी ठगी गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न वैशाख १८ गते अदालतबाट अनुमति लिएपछि उनी फरार भएकी थिइन्।
तर सोमबार संसद अधिवेशनको अन्तिम दिन उनी उपचारमा रहेका कारण दशवटा भन्दा बढी बैठकमा अनुपस्थित रहेको जानकारी सभामुख देवराज घिमिरेले गराए।
सांसद बस्नेत वैशाख २८ गतेदेखि साउन ३० गतेसम्मका ४७ वटा बैठकमा अनुपस्थित रहेको सभामुख घिमिरेले जानकारी दिए। अधिवेशनको अन्तिम दिन दशभन्दा बढी बैठक अनुपस्थित हुनेहरुको कारण खुलाएर सदनमा पेश गर्ने र त्यसलाई सदनमा अनुमोदन गर्ने चलन छ। त्यसो गर्दा स्थान रिक्तता नभएको मानिन्छ।
संसदले उपचारमा रहेको भनेकै बेला बस्नेतविरुद्ध जेठ २० गते सहकारी ठगी गरेको अभियोग जिल्ला अदालत नवलपुरमा दर्ता भएको थियो।
प्रहरीको अध्ययन प्रतिवेदनका आधारमा सरकारी वकिलले बस्नेतले सहकारीको ९६ करोड अवैध रुपमा बर्दियाको कृष्णसार रिसोर्टमा लगानी गरेको अभियोगपत्रमा उल्लेख छ। छिपछिपे सहकारी ठगीमा उनीसहित २५ लाई प्रतिवादी बनाइएको छ।
सोमबार सहकारी ठगी सम्बन्धी संसदीय समितिको रिपोर्टका आधारमा दोषीमाथि कारबाहीका लागि सरकारलाई निर्देशन दिएको प्रतिनिधिसभाले त्यही कसुर गरेका सांसदको पद भने जोगाइ दिएको छ।