काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने जनाएका छन् ।
बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा मंगलबार जारी गरेको शुभकामना सन्देशमा उनले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनर्जागृत गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्रीले विकास–निर्मााणका कामलाई द्रुत गतिमा कार्यान्वयन गर्न सरकारले विज्ञान र प्रविधिलाई मेरुदण्डका रुपमा अङ्गीकार गर्दै आर्थिक विकास एवं सामाजिक रूपान्तरणका साथै प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानिएको जनाए।
सरकारले अनुसन्धान तथा उद्यमशीलता प्रवर्द्धन गर्न आविष्कार कोष, ‘स्टार्टअप फण्ड’जस्ता वैज्ञानिक, अनुसन्धानकर्मी र देशमै उद्यम गर्न खोजिरहेका युवा केन्द्रित कार्यक्रमका लागि सरकारले बजेट विनियोजन गरेको जनाउँदै सन्देशमा विज्ञानको प्रयोग गरी तथ्यमा आधारित नीति, कार्यक्रम निर्माणमा केन्द्रित हुन आवश्यक रहेको जनाएका छन् ।