काठमाडौं । रिन्युजेन रिसोर्सेजले इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पसको सहकार्यमा पेट्रोल र हाइड्रोजनबाट चल्ने गाडी निर्माण गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सोमबार सो गाडीको शुभारम्भ गरे । पेट्रोल र हाइड्रोजनबाट चल्ने इन्जिन निर्माणको नेतृत्व गरेका डा. प्रकाश थापाले पेट्रोलबाट चल्ने पुरानो कारको इन्जिनलाई हाइड्रोजन उपयोग गरी पेट्रोलको खपत कम गराउने इन्जिन पहिलो पटक नमूनाका रूपमा बनाइएको जानकारी दिए । यो प्रविधिको विकास र विस्तार गर्न सके थोत्रा भई थन्किएका सयौं सवारीसाधनलाई पुनः प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ ।
कार्यक्रममा मन्त्री दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताए । प्रविधिको उपयोगबाट प्रगति र समृद्धिको यात्रा सहज बनाउन सकिने भन्दै उनले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक ऊर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको जनाए ।
औद्योगिक मुलुकका कारण विश्वव्यापी रूपमा बढिरहेको कार्बन उत्सर्जनको मार नेपालजस्ता मुलुकमा समेत पर्दा हिमालदेखि समुद्रसम्म प्रदूषणको असर देखिएको उनको भनाइ छ । यस्ता विश्वव्यापी चुनौतीको सामना गर्न नेपाल पनि तयार रहनु पर्ने उनले जनाए ।
वातावरणमैत्री र नवीकरणीय इन्धनको प्रवर्द्धनमा जोड दिन जरुरी रहेको उनको भनाइ छ । कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले हाइड्रोजन नेपालले प्राकृतिक रूपबाट प्राप्त गर्न सक्ने भएकाले औद्योगिक उत्पादन र उपयोगका लागि कानुनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको जनाए ।
कार्यक्रममा ‘कन्भर्सन’ प्रविधि उपयोग गरी इन्जिन रुपान्तरण गरिएको कारमा मन्त्री दाहाल, सांसद ठाकुर गैरे, पूर्वमन्त्री कर्णबहादुर थापा समेत सवार भई केही दुरी यात्रा समेत गरेका थिए ।