काठमाडौँ / लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
बिहीबार पक्राउ परेका श्रेष्ठलाई कास्की प्रहरीले म्याद थपका लागि शुक्रबार कास्की जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले उनलाई तीन दिन हरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद श्रेष्ठ पक्राउ परेका थिए। पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रहेको शुभविहानी पोलिक्लिनिकबाट बिहीबार श्रेष्ठलाई पक्राउ गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाका अनुसार लागुऔषधसहित पक्राउ परेका युवाले बयान दिएपछि उनलाई पक्राउ गरिएको थियो।
साउन ३ गते लागूऔषध मुद्दामा प्रकाउ परेका युवाले बयान दिएपछि दिया फार्मेसीका संचालकसमेत रहेका श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट रोल्पाको त्रिवेणी गाउँपालिका–७ स्थायी घर भई हाल पोखरा महानगरपालिका– ४ नालामुख बस्ने ४२ वर्षीय प्रकाश थापा मगरलाई लागूऔषधसहित पक्राउ गरेको थियो।