काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानुनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।बिहीबारको समितिको बैठकले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानुनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो ।
नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले खेलकुद क्षेत्रको महत्त्व बढ्दै गइरहेको जनाइन् । उनले सीमित श्रोत र साधनका बावजुत पनि नेपाली खेलाडीहरूले विकास र राष्ट्रको गौरव बढाउँदै आएको बताइन् । उनले खेल क्षेत्रमा लगानी समस्या रहेको जनाइन् । खेल क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने उनले जनाइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले युवाहरूलाई समेट्ने गरी, युवालाई प्रोत्साहन दिनेगरी र युवालाई देशभित्रै रोजगारीको सुनिश्चितता हुनेगरी युवा स्वरोजगार कार्यक्रमलाई अघि बढाउन सुझाव दिइन् । उनले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत आजसम्म कति वटा प्रपोजल परेका छन् भन्दै प्रश्न गरिन् । उनले युवाहरू देशभित्रै केही गर्न चाहेपनि मन्त्रालयमा पठाएका प्रपोजल स्वीकृत हुन ढिलाइ भइरहेको जनाइन् ।