काठमाडौं / राजनीतिक दल र नेताहरुबीच नै एकअर्कालाई जसरी पनि समाप्त गर्ने अस्वस्थ प्रतिस्पर्धा हुँदा सदनदेखि सडकसम्म नेताहरु लखेटिन थालेका छन् । टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लक्षित आक्रोशपूर्ण नाराबाजी भएको केही दिनमात्र बितेको छ । अहिले पोखरामा पूर्वउपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी र कालो झण्डा प्रदर्शन भएको छ ।
काठमाडौंमा भएको नाराबाजीले सरकारविरुद्ध आक्रोश ओकलेको थियो । यो नाराबाजीले जनतामा फरक सन्देश प्रवाह गरेको थियो भने पोखरामा मंगलबार भएको नाराबाजीले नयाँ राजनीतिक शक्तिहरुको बढ्दो लोकप्रियताकाविरुद्ध सत्ताधारी दलका कार्यकर्ताहरुबाट भएको योजनाबद्ध नाराबाजी थियो भन्ने कुरा स्पष्टै छ ।
रास्वपाको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न रवि आउने जानकारी भएपछि बिहानैदेखि सूर्यदर्शन सहकारी पीडित कार्यक्रमस्थल बाहिर पम्लेट लिएर पुगेका थिए । उनीहरुले रवि कार्यक्रममा आउँदै गर्दा उनको संलग्नता रहेको जिकीर गर्दै नाराबाजीमात्रै गरेनन्, कालो झण्डा नै देखाए । यसअघि कालो झण्डा देखाउने व्यक्तिहरुलाई धरपकट गर्ने प्रहरीले मंगलबार भने उनीहरुलाई बल प्रयोग गरेन, कालो झण्डा खोसेन ।
सदनमा पनि उस्तै अवस्था छ । उपसभामुख इन्दिरा राना मगरलाई सरकारले महाअभियोग लगाएर हटाउन खोजेपछि संसदमा अहिले सत्तारुढ दल एमाले–कांग्रेस र माओवादी केन्द्र–रास्वपा जस्ता विपक्षी दलहरु आमनेसामने भएका छन् । उपसभामुख रानाले पदको दुरुपयोग गरी अमेरिकी दूतावासलाई पत्र लेखेको भनेर सत्तारुढ दलले उनलाई हटाउन खोजेका छन् भने माओवादी र रास्वपाले सत्तारुढ दलले बहुमतको दुरुपयोग गर्न खोजेको आरोप लगाएका छन् ।
मंगलबारको संसद बैठकमा प्रमुख सत्तारूढ दल एमालेका सांसदहरूले ‘पदीय आचरणअनुकूल काम नगरेको आरोप लागेको’ भन्दै उपसभामुखको राजीनामा माग गरेका थिए भने बैठकमा विपक्षी दल माओवादी र रास्वपाले उनको बचाउ गर्दै सत्तारूढ दलका सांसदले उठाएका विषयको प्रतिवाद गरेका थिए । उपसभामुखको विषयलाई लिएर सत्ता र प्रतिपक्षबीच ‘जुहारी’ नै चलेको थियो ।
यसबीच, रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै पछिल्ला घटनाक्रमबारे असन्तुष्टि नै जनाएका छन् । उपसभामुख रानामगरको राजीनामा माग्न दबाब बढेको र पोखरामा आफूमाथि शृंखलाबद्ध विरोध भइरहेको भन्दै लामिछानेले असन्तोष जनाएका हुन् । उनले उपसभामुख लक्षित टिप्पणीहरु भएको भन्दै त्यो रोकिनुपर्ने आग्रह गरेका थिए । लामिछानेले राजनीतिक प्रतिशोध साँध्ने नियतवश उक्त प्रश्नहरु उठेको आरोप लगाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
लामिछानेले पोखरामा सूर्यदर्शन सहकारीसँग सम्बन्धित विषय जोडेर आफूमाथि विगतमा खोया प्रहार भएको, मंगलबार पनि कालो झन्डा देखाउने काम भएको भन्दै आफू यस्ता क्रियाकलापबाट विचलित नहुने बताएका थिए । उनले प्रधानमन्त्री ओलीलाई आफूमाथि नियतवश प्रतिशोध साँध्ने काम भइरहेको भन्दै यसले सत्तापक्षलाई पनि फाइदा नहुने चेतावनी दिएका थिए । लामिछानेले पोखरामा बोल्ने क्रममा राजनीतिक एजेन्डामै प्रतिष्पर्धा गर्न भन्दै व्यक्तिगत पूर्वाग्रह नराख्न ठूला दलहरुले कार्यकर्तालाई आग्रह गर्नुपर्ने समेत बताएका थिए ।
राजनीतिक दलबीच सहिष्णुता हट्दै गएका उदाहरण पनि छन्, जसले देश अराजकताको दलदलमा फस्दै गएको स्पष्ट हुन्छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालविरुद्ध सोही पार्टीका नेता अशोक यादवले निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन् । जसपा नेपालको महाधिवेशनमा महासचिवका उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले आज निर्वाचन आयोगमा पुगेर उजुरी दर्ता गराएका हुन् । नेता यादवले केन्द्रीय समिति, पदाधिकारी चयनलगायतका विषय विधान तथा निर्देशिका विपरीत भएको र त्यसको छानबिन गरी गैरकानुनी रूपमा भएका कामकारबाहीहरू बदर गर्न माग गरेका छन् । जसपा नेपालको गत जेठमा सम्पन्न एकता महाधिवेशनबाट अध्यक्षमा उपेन्द्र यादव मात्र सर्वसम्मतिले चयन भएका थिए ।
वर्तमान व्यवस्थाको असफलतासँगै देशमा प्रत्यक्ष कार्यकारीको पनि माग बढ्न थालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न चुनौती दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले कांग्रेस र एमालेको दुई तिहाइ बहुमत भएकाले संविधान संशोधन गर्न र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरेका हुन् ।