काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बीपी कोईरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुन जरुरी रहेको जनाएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रजातान्त्रिक समाजवाद संसारकै उत्तम समाजवाद भएको जिकिर गरे।
उनले बीपी कोईरालालाई सानो देशको ठूलो नेताका रुपमा चित्रण गरे। उनले बीपीलाई ज्ञान नभएको विषय नै नरहेको जनाए। सभापति देउवाले बीपी धेरै विषयको ज्ञानी भएपनि समयानुसार केही कुराहरु परिवर्तन हुने बताए। बीपीले त्यो बेलामा सबैले गाई पाल्नुपर्छ भन्नुभएको तर अहिले सबैलाई दुध खुवाउनुपर्छ भनेर डेरी कन्सेप्ट आएको जिकीर गरे। उनले गाई सबैले पाल्नुपर्छ भन्दा पनि सबैले दुध पिउन पाउनुपर्छ भन्नेकुरा महत्वपूर्ण रहेको जनाए।
बीपी कोईराला अलराउण्डर भएको समेत उनको भनाई थियो। उनले भने, ‘बीपी कोईराला सानो देशको ठूलो नेता हो। उहाँलाई ज्ञान नभएको विषय नै थिएन धेरै विषयको ज्ञानी हुनुहुन्थ्यो।
कति कुराहरु समयअनुसार पनि चेन्ज हुन्छ। जस्तै उहाँले गाई पाल्ने कुरा गर्नुभएको थियो। आज गाई पाल्ने कुरा भन्दा पनि आज ठाउँठाउँमा बाटो पुग्ने, बिजुली, बत्ती पुगेको छ। आज गाई पाल्नु भन्दा पनि दुध सप्लाई गर्न डेरी सञ्चालन गर्ने हो। घरघरमा दुध बालबच्चाले पाउन् भनेको मतलव गाई पाल्नु भन्दा पनि बालबालिकालाई दुध खुवाउनु ठूलो कुरा हो। आज डेरी कन्सेप्ट ठूलो कुरा हो। समयमा धेरै कुरा चेन्ज हुन्छन्।
बीपी कोईराला अलराउण्डर हो। साहित्यमा त्यत्तिकै उत्कृष्ट हुनुहुन्थ्यो। बीपी कोईरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुनु जरुरी छ।’ सभापति देउवाले बीपीले छोडेर गएका प्रजातान्त्रिक समाजवादलाई अध्ययन गरी बिस्तार गर्न आवश्यक रहेको बताए। बीपी जस्तो नेता अहिलेसम्म अरु पार्टीमा नजन्मिएको उनले जिकीर गरे।