काठमाडौँ / सिरहा प्रहरीले प्रतिबन्धीत लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुवनी बलरा थाना वाड नं. १२ बस्ने २० वर्षीय किसुन मुखिया, मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ९ बस्ने ६२ वर्षीय खडक बहादुर तामाङ र सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १० बस्ने ४० वर्षीय चानो देबी मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
शुक्रबार दिउँसो करिब २ बजेको समयमा कर्जन्हा नगरपालिका १० स्कुल टोल स्थितमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा प्रहरी चोकी कर्जन्हा सिरहा र इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटेको प्रहरी टोलीले २१७ केजी गाँजा बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
प्रहरीले स्थानीय ४५ वर्षीय बिहारी मुखियाको गोठ घरबाट प्लाष्टिकको १४ वटा पोकामा २१७ किलोग्राम गाँजा बरामद गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।