काठमाडौं । श्रीलंका डेभलपमेन्ट-११ सँग आज भएको भएको अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित भएको छ।
यसअघि तय भएका दुवै अभ्यास खेल भने वर्षाका कारण हुन नसकेका भए पनि आज भएको अन्तिम खेलमा नेपालले दिएको १६० रनको जितको लक्ष्य घरेलु श्रीलंका डेभलपमेन्ट-११ ले ५ विकेट गुमाएर भेट्टाएको हो।
जितका लागि नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले २६ ओभर ५ बलमा ५ विकेटको क्षतिमा भेट्टायो। श्रीलंकाको जितमा के सञ्जुलाले ६० बलमा सर्वाधिक ६८ रनको योगदान गरे।
नेपालका लागि गुलशन झाले २६ रन खर्चेर २ विकेट लिए भने कप्तानी गरेका सोमपाल कामीले २ विकेट लिए भने एक विकेट स्पिनर ललित राजवंशीको नाममा रह्यो।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४० ओभरमा अल आउट हुँदै १५९ रनको मध्यम स्कोर बनाएको थियो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४३ रनको योगदान गरे भने कुशल मल्लले ३५ रन जोडे। आरिफ शेखले २० रन बनाउँदा कप्तान सोमपाल कामी २ रनमा आउट भए।
घरेलु टोलीका लागि गरुका सांकेतले ३९ रन खर्चिएर नेपालका ४ विकेट खसाले। रोहित पौडेलको अनुपस्थितिमा आज नेपालको कप्तानी सोमपाल कामीले सम्हालेका थिए। रोहितसँगै शुक्रबार दिपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने श्रीलंकाविरुद्धको खेलमा पाहुना टोलीमा अटाएका थिएन ।
आईसीसी विश्वकपको तयारीका लागि नेपाल श्रीलंका पुगेको हो नेपाली टोली विश्वकप लिग-२ खेल्न श्रीलंकाबाटै क्यानडा प्रस्थान गर्नेछ।