काठमाडौं । नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ।
संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षोल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।
मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ।
समितिले आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको हो। समितिको निर्देशानुसार असोज २ गते संघीय सरकार तथा केन्द्रीयस्तरका कार्यक्रमअन्तर्गत संविधानका विषयमा केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटक लगायत जनचेतनामूलक कार्यक्रमहरूको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाइएको छ।