पञ्चायत शासनकालमा शासकको विरोध गर्नु निषेध नै थियो । यस्तो कार्यमा संलग्नलाई जेल पठाउने, यातना दिनेजस्ता कारबाही गरिन्थ्यो । नेताहरुले यस्तो शासनव्यवस्थाविरुद्ध संघर्ष गरे, जनताले पनि उनीहरुलाई साथ थिए । ठूलो संघर्षपछि देशमा लोकतन्त्र, गणतन्त्र स्थापना भएको छ । तर, नेताहरु भने आफैं पञ्चायतकालका शासक जस्ता बनेका छन् । उनीहरुको विरोध गर्न नहुने, गुणगान गाउन पर्ने, सीमित नेताहरुले दुई दशकदेखि सत्ता कब्जा गरिरहँदा पनि अन्यले प्रश्न गर्न नपाउने अवस्था अहिले नेपालमा छ । कोहीकसैले नेताहरुको विरोध गर्दा पञ्चायतकालमा जस्तै जेलमा जानुपर्ने अवस्था छ ।
यसको पछिल्लो उदाहरण हो, प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा युवाहरु प्क्राउ पर्नु । गत १० भदौमा टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराबाजी गरेको अभियोगमा सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढा पक्राउ परेका थिए । सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा लगाइएका उनीहरु ९–९ हजार धरौटी बुझाएर रिहा भएका छन् । विरोध गरेकै आधारमा आफूलाई थुनामा राखी मुद्दा चलाएर सरकारले निरंकुश शैली देखाएको उनीहरूको आरोप छ । पक्राउ परेकामध्ये दीपक र रामबहादुरले साथीहरूसँग सापट मागेर धरौटी बुझाएका हुन् । दीपक कीर्तिपुरको सहिद स्मारक कलेजका स्नातक प्रथम वर्षका विद्यार्थी हुन् । रामबहादुर वैदेशिक रोजगारीको तयारीमा छन् । पक्राउ परेकामध्ये गोपीकृष्ण वैदेशिक रोजगारबाट ६ महिनाअघि नेपाल फर्किएकोमा अब फेरि विदेश जाँदै छन् । आफूहरू कुनै पनि दलमा आबद्ध नभएको उनीहरूले बताए ।
यी युवा वर्तमान नेपालका प्रतिनिधि हुन् । अहिलेका युवा राजनीतिक दल, नेताप्रति निराश र आक्रोशित छन् । विकासको सपना बुनेका जनताको धैर्यको बाँध टुट्ने अवस्थामा आइपुगिसकेको छ । छिटपुट घटनाका रुपमा नेताहरुप्रति नाराबाजीजस्ता घटना बाहिर आइरहेका छन् । तर, नेताहरु यसलाई सुझावको रुपमा नलिई निरंकुश शैली प्रदर्शन गरिरहेका छन् ।
डेढ दशकयता मुलुकमा लोकतन्त्र तथा गणतन्त्र स्थापना भए पनि राजनीतिक स्थायित्व र विकास प्राप्त हुन नसक्दा विस्तारै हामीले अहिले अपनाउँदै आएको संसदीय व्यवस्था नै असफल बनेको पुष्टि भएकै छ । मुलुकमा एकपछि अर्को सरकारहरु गठन हुने तथा आर्थिक रुपमा विपन्न बिभेदमा परेको वर्गका लागि कुनै काम गर्न नसक्ने, सत्ताका लागि राजनीतिक दल र तिनका नेताबीच अस्वाभाविक गठबन्धन हुने जस्ता कारणले संसदीय व्यवस्था असफलताको दिशामा उन्मुख भएको हो । देशको अर्थव्यवस्थामा आएको ठूलो संकटले वर्तमान व्यवस्थाप्रति राजनीतिक दल र तिनका नेतृत्वले सोच्नुपर्ने बेला आएको छ । नेताहरुको कार्यशैलीप्रति जनताको विरोध हुनु भन्नुको अर्थ उनीहरुलाई सच्चिने अवसर हो । यसलाई नेताहरुले बुझ्न आवश्यक छ । तर, राणाशासन, पञ्चायत, राजतन्त्रजस्तै नेताहरुको अहिलेको शासन व्यवस्थाविरुद्ध जनता सडकमा उत्रिने दिन छिटै आउनेछ । जनधारणा साप्ताहिक