काठमाडौँ । नेपाली काँग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री तथा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको स्मृतिमा १११ औं बीपी जन्म जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको छ।
विभागकी संयोजक डा. डिला सङ्ग्रौला पन्तको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले यही भदौ २५ गते “बिपीको समाजवाद र बुद्धिजीवीको भूमिका” विषयमा विचार गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ। यस अवसरमा बिपी कोइरालाका विचारहरूको वर्तमान सन्दर्भमा महत्त्व र सान्दर्भिकताबारे चर्चा गरिने छ। डा. सङ्ग्रौलाले यो विचार गोष्ठीलाई बिपीको सोच र सिद्धान्तको पुनरावलोकनको अवसरको रूपमा लिइने बताइन्। साथै विभागले आउँदो असोज ३ गते संविधान दिवसको अवसरमा विशेष अन्तरक्रिया गर्ने निर्णय पनि गरेकाे छ।
यसका अतिरिक्त विभागले वार्षिक रूपमा सञ्चालन गर्ने विविध कार्यक्रम र कार्य तालिका तयार गर्ने निर्णय पनि गरेको छ।