काठमाडाैं । प्रधानमन्त्री केपी ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका युवा धरौटी बुझाएर रिहा भएका छन् ।
सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढा शुक्रबार नौ–नौ हजार धरौटी बुझाएर छुटेका हुन् । उनीहरूविरुद्ध प्रहरीले शुक्रबार नै सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दायर गरेको छ ।
रिहाका लागि चौतर्फी दबाबका बाबजुद जिल्ला प्रहरी परिसर, काठमाडौंले एक वर्षसम्म कैद सजाय माग गरी सरकारी वकिल कार्यालयमार्फत मुद्दा अगाडि बढाएकोे थियो । उनीहरूलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको हो । विरोध गरेकै आधारमा आफूलाई थुनामा राखी मुद्दा चलाएर सरकारले निरंकुश शैली देखाएको उनीहरूको आरोप छ ।
प्रहरीले गोपीकृष्ण र रामबहादुरलाई नौ–नौ दिन र दीपकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति लिएको थियो । उनीहरूलाई लामो समय थुनामा राख्ने प्रहरी तयारी थियो । तर, मानव अधिकारवादी तथा नेताहरूले समेत राज्य असहिष्णु र प्रतिशोधी बनेको भन्दै आलोचना भएपछि चौथो दिनमै प्रहरीले मुद्दा दायर गरेको हो । नेताहरूको आलोचना गर्दा उनीहरू चार दिन हिरासतमा बस्नुपर्यो भने नौ हजार धरौटीसमेत तिर्नुपरेको छ ।
गत १० भदौमा टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध उनीहरूले नाराबाजी गरेको अभियोग छ ।
जुन घटनाप्रति ओली र देउवाले रिसाएर मञ्चबाटै असन्तुष्टि पोखेका थिए । भोलिपल्ट गृह मन्त्रालयको निर्देशनमा युवकहरू पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये जैसीले नाराबाजी गरेका थिए । अन्य दुई युवक उनीहरूसँगै भएकै आधारमा पक्राउ परेका हुन् ।
यसरी मुद्दा नै दायर भएकोमा पीडितहरूले असन्तुष्टि जनाएका छन् । ‘नेताको आलोचना गरेकै आधारमा मौलिक हक हनन हुने गरी पक्राउ गरियो,’ गोपीकृष्णकी श्रीमती सरिता केसीले भनिन्, ‘साधारण तारेखमा छाड्छन् होला भनेको नौ हजार धरौटी पो बुझाउनुपर्यो ।’
पक्राउ परेकामध्ये दीपक र रामबहादुरले साथीहरूसँग सापट मागेर धरौटी बुझाएका हुन् । दीपक कीर्तिपुरको सहिद स्मारक कलेजका स्नातक प्रथम वर्षका विद्यार्थी हुन् ।
रामबहादुर वैदेशिक रोजगारीको तयारीमा छन् । आफूहरू कुनै पनि दलमा आबद्ध नभएको उनीहरूले जनाए । गौरापर्वको भिडियो खिचेर हालेकै आधारमा आफूलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको उनीहरूको दुःखेसो छ ।
पक्राउ परेकामध्ये गोपीकृष्ण वैदेशिक रोजगारबाट ६ महिनाअघि नेपाल फर्किएकोमा आइतबार फेरि जाँदै छन् । आफू कुनै पनि पार्टीमा आबद्ध नभएको र शान्तिपूर्वक रूपमा नेताको आलोचना मात्र गर्दा पनि पक्राउ परेको उनी जनाउँछन् ।