घोडाघोडी (कैलाली) । हिन्दु महिलाले मनाउने तिज पर्व मनाउने तरिकामा सहरदेखि गाउँसम्म परिवर्तन देखिएका छन् । तिज आउनु हप्तौँअघि नै मन मिल्ने समूह बनाउने र होटेलमा दर खाने कार्यक्रम सुरु भइसकेको छ ।
भड्किलो बन्दै गएको तिज सामान्य महिलाका लागि ‘मन अमिलो’ बन्ने पर्व हुन थालेको छ । तिज पर्व भड्किलो र विकृति भित्रिँदै गएको भन्दै कैलालीको घोडाघोडी नगरपालिकाका महिलाले गौरा तथा तिज मिलन कार्यक्रम आयोजना गरी पर्वको मौलिकतामा जोड दिएका छन् ।
घोडाघोडी महिला सञ्जाल गठन गरी पछिल्लो समय घोडाघोडीका महिला विकृति र विसङ्गतिविरुद्ध एक हुन थालेका हुन् । सञ्जालका अध्यक्ष रमा आचार्यले घोडाघोडी नगरपालिकाका सबै वडाका महिलालाई सञ्जालमा जोड्दै महिला हिंसा, विकृति, विसङ्गतिविरुद्धको अभियान सञ्चालन गरेको जनाउनुभयो ।
उहाँले तिजको मौलिकता जोगाउन नगर क्षेत्रका ६० जना महिला एकजुट भई मादलको तालमा जनचेतनामूलक तथा मौलिक तिज गीतमा रमाएको जनाउनुभयो ।
उहाँले भन्नुभयो, “पहिला पहिला तिज आउनुभन्दा एक महिनाअघि गाउँका महिला दिनभरिको काम गरी साँझ एक ठाउँमा जम्मा भई मादलको तालमा आफ्ना दुःखसुख तिजका गीतको भाकामा घन्काइन्थ्यो, हिजोआज एक महिनाअघि नै होटेलमा दर खाने होडबाजी चलेको छ ।”