काठमाडौं । संघीय संसद्अन्तर्गत आज सातवटा संसदीय समितिको बैठक बस्दै छ ।
यसबाहेक संसदीय सुनुवाइ समितिको बैठक पनि बस्दै छ । अर्थ समितिको बैठक बिहान ९ बजे बस्ने भएको छ ।
बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठक बिहान साढे ११ बजे बस्नेछ ।
बैठकमा तयारी पोशाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोशाक उद्योग संघका प्रतिनिधिहरूसँग छलफल हुनेछ ।
हस्तकला क्षेत्रका नीतिगत समस्याका सम्बन्धमा नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने कार्यसूची छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो २ बजे बस्दै छ ।
बैठकमा वन तथा वातावरण मन्त्रालयबाट यस आर्थिक वर्षमा सम्पादन हुने कार्यक्रम, कार्यसम्पादनमा रहेका समस्या र मन्त्रालयको बजेटका विषयमा छलफल हुनेछ ।