काठमाडौं÷ नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान सत्ता गठबन्धनप्रतिको असन्तोष सार्वजनिक रुपमा नै देखिन थालेको छ । वर्षौंदेखि राजनीतिक असफलताका कारण आजित जनताले अब सार्वजनिक कार्यक्रममा नै नेताहरुको विरोध गर्न थालेका हुन् ।
पछिल्लो समय काठमाडौंको टुँडिखेलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाको युवाहरुले विरोध गरे । युवाले नाराबाजी गरेपछि नेताहरु आफ्नो भाषण छोट्याएर कार्यक्रमबाट बाहिरिनुपरेको थियो । यस्तै, ललितपुरमा कृष्ण मन्दिरमा पूजाअर्चनाको क्रममा राष्ट्रपति रामचन्द्र भण्डारीप्रति पनि विरोधमा नाराबाजी भएको थियो । यी घटनाले नेताहरुप्रति जनताको आक्रोश बढ्दै गएको र त्यो सार्वजनिक रुपमा नै देखिन थालेको स्पष्ट हुन्छ ।
नेताहरुले भने यस्तो विरोधलाई समाज बिथाल्ने प्रयासको रुपमा लिने गरेका छन् । प्रधानमन्त्री ओलीले ‘समाजलाई बिथोल्ने प्रयास भइरहेको छ’ भनेर भाषण गरेको केही घण्टामै गत सोमबार शीर्ष नेता उपस्थित कार्यक्रममा नाराबाजी भएको थियो । तर ओली र देउवाले आफ्नो गल्ती महसुस गर्नुको साटो उल्टै युवालाई गाली गरे ।
हाल सरकारमा एमाले र कांग्रेसको गठबन्धन सरकार छ । दुवै दल विचार, सिद्धान्त, नीति, उद्देश्यमा कुनै पनि मेल छैन । तर, सरकारका लागि बनेको यस्तो अप्राकृतिक गठबन्धनप्रति असन्तोष भने बढ्दै गएको छ । सडकदेखि सदनसम्म आक्रोश पोखिन थालेको छ । गत मंगलबार संसदमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि अमरेशकुमार सिंहसम्मले जनतामा आक्रोश र निराशाको आगो बढ्दै गएको जनाए ।
‘सत्यले शक्ति देखाउन संख्या हुनु पर्दैन । सरकार यति छिटो यो तहमा एक्सपोज हुनु प्रतिपक्षीका रूपमा हाम्रा लागि राम्रो हो, तर म खुशी छैन,’ प्रचण्डले भने, ‘केही दिनमै सरकार सत्ता समूहका पक्षमा जसरी खुला रूपमा उभियो, त्यसले जनतामा निराशा र आक्रोशको आगो ज्यामितीय रूपमा बढ्दैछ ।’
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले टुँडिखेल घटना खतराको संकेत भएको जनाए । बंगलादेशमा शेख हसिनासँग ७ महिनाको ताजा दुईतिहाइ बहुमत भए पनि त्यसले काम नगरेको टिप्पणी गर्दै उनले भने, ‘लोकतन्त्र कहीँ जाँदैन, तर हावाहुन्डरीमा नेताजी र दलहरू जान सक्छन् ।’
यसबीच, विभिन्न नेताहरुले विरोध प्रदर्शन र तेस्रो जनआन्दोलनसम्मको चेतावनी दिएका छन् । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कांग्रेस र एमालेको दुई दलीय गठबन्धन अनैतिक भएको बताएका छन् । दुई दलीय गठबन्धनले मुलुक बर्बाद हुन लागेको पनि उनको टिप्पणी छ ।
दुई दलीय गठबन्धनको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाउँदै उनले आफ्नो पार्टीको बैठकमा तेस्रो जनआन्दोलनको रणनीति तय गर्ने बारेमा गम्भीर छलफल हुने जानकारी दिए । अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने उनको दाबी छ ।
यस्तै, संसदमा माओवादी अध्यक्षले प्रचण्डले पनि वर्तमान सरकारको गठन प्रक्रिया र कामकारबाहीप्रति विरोध जनाएका छन् । वर्तमान सरकार राजनीतिक बलमिच्याइबाट बनेको आरोप लगाउँदै उनले यसअघि विभिन्न आपराधिक काण्डमा मुछिएकालाई जोगाउन र गल्ती कमजोरीलाई ढाकछोप गर्न लागिपरेको भनी सरकारप्रति आक्रोश व्यक्त गरे ।
आफू कसैलाई नैतिकता सम्झाउने पक्षमा नरहेको भन्दै प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता दाहालले भ्रष्ट, बिचौलिया र माफियाको पक्षपोषणमा उद्यत भइरहे सरकारको प्रतिष्ठा आफैँ समाप्त हुने धारणा व्यक्त गरे । उनले सरकार सुशासनसँग तर्सिएर, सुशासनको बेगलाई रोक्न तथा आफू र आफ्नालाई जोगाउन बनेको भनी आरोप लगाए । आफ्नो नेतृत्वको यसअघिको सरकारले भुटानी शरणार्थी, बाँसबारी र बालमन्दिर जग्गा प्रकरणलगायत थुप्रै काण्डको सफल छानबिन गरिरहेको अवस्थामा अकस्मात नयाँ सरकार गठन भएको प्रसङ्ग उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले विभिन्न अनियमित घटनाक्रमसहित भ्रष्टाचार काण्डको छानबिन गरिरहेका प्रहरी अधिकृतमाथि नै छानबिन सुरु गरी सुशासनको रटान लगाउनु हाँस्यास्पद हुने धारणा व्यक्त गरे । प्रमुख प्रतिपक्ष दलका हैसियतले जनतालाई साथमा लिएर अब संसददेखि सडकसम्मको मोर्चा प्रयोग गरी सत्तापक्षलाई खबरदारी र नियन्त्रण गर्न आफ्नो दल सक्रिय रहने उनले स्पष्ट गरे ।
टुँडिखेलको घटनाबाट राज्यसँग नागरिकको अपेक्षा के रहेछ भनेर बुझ्नुपर्ने देखिन्छ । लोकतन्त्रमा नागरिकमा देखिएको गुनासो, विरोध र असन्तुष्टिलाई सुरक्षाकर्मी लगाएर निस्तेज गर्न सकिँदैन, गर्नु पनि हुँदैन । तर, राज्यले अनुगमन गरेर आमनागरिकको अपेक्षा के हो भनेर पहिचान गर्नुपर्छ । नत्र भने आक्रोश झनै बढ्ने देखिन्छ । जनधारणा साप्ताहिक