काठमाडाैं । झापाको काकडभिट्टामा जन्मे हुर्केका प्रकाश श्रेष्ठ (पीएचडी) अहिले आफ्नो सपनाको संसारमा छन् । उनी नासाका वैज्ञानिक हुन् ।
सन् २०१८ मा इन्टर्नको रूपमा नासा छिरेका उनी अहिले लिड साइन्टिस्टको भूमिकामा छन् । क्यालिफोर्नियामा रहेको नासा एम्स रिसर्च सेन्टर उनको कार्यालय हो । त्यहाँ उनले विद्यावारिधि गरिरहेका पाँच जना इन्टर्नको नेतृत्व समेत गर्नु पर्ने हुन्छ । यो यात्रा पूरा गर्न उनलाई सजिलो पक्कै थिएन । स्नातकोत्तर तहसम्म ठ्याक्कै यही क्षेत्रमा विशिष्टीकृत ज्ञान हासिल गर्छु भन्नेमा उनी अन्योलमा नै थिए । अहिले उनको दक्षता हाइपरसोनिक र एरोडाइनामिक्ससँग सम्बन्धित छ ।
हाइपरसोनिकले ध्वनिको गति भन्दा पाँच गुणा वा सोभन्दा पनि बढी गतिलाई जनाउँछ । यसमा मिसाइल, वायुमण्डलमा प्रवेश गर्दाको यान आदि पर्छन् । त्यस्तै एरोडाइनामिक्स भनेको हावाको गतिको अध्ययन हो । यसले ठोस वस्तुहरू जस्तै विमानको पखेटा, कारले हावाको गतिसँग कसरी अन्तरक्रिया गर्छन् भनेर अध्ययन गर्छ ।
श्रेष्ठले आफ्नो विद्यावारिधि पनि यसैमा गरेका छन् । मिनेसोटा विश्वविद्यालयबाट एरोस्पेस इन्जिनियरिङ र मेकानिक्समा उनले विद्यावारिधि गरेका हुन् । नासा एम्स रिसर्च सेन्टरमा उनले पूर्णकालीन भएर काम गर्न थालेको साढे तीन वर्ष भइसकेको छ । त्यसअघि उनले नासाकै अन्य ल्याबमा ग्र्याजुएट रिसर्च फेलो र इन्टर्नका रूपमा काम गरेका थिए ।
विशेषतस् उनको काम अनुसन्धानमूलक हुन्छ । अनुसन्धान बाहेक विभिन्न परियोजना हात पारेर आफ्नो समूहलाई आर्थिक पाटोमा सुधार गर्न अन्य सरोकारवाला पक्षहरूसँग पनि नियमित संवादमा रहिरन्छन् उनी । अहिले ठ्याक्कै उनले आफ्ना अनुसन्धान परियोजनाहरू गोपनीयताका कारण खुलाउन सकेनन् । तर उनको अनुसन्धान एलन मस्कको स्वामित्वमा रहेको स्पेसएक्ससम्म तानिएको छ ।