काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको जनाउनुभएको छ । सोमबार काठमाडौंमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो जनाउनुभएको हो ।
उहाँले समस्याको पहिचान नगरी समाधान नहुने भन्दै समस्याको पहिला पहिचान गर्ने काममा आफू लागेको बताउनुभयो । उहाँले अस्पतालहरुमध्येमा प्रसुती तथा स्त्रीरोग अस्पतालको स्वास्थ्य सेवा प्रशंसायोग्य रहेको जिकिर गर्नुभयो ।
मन्त्री पौडेलले अहिलेको साधन स्रोतभित्र रहेर अस्पतालले गरेका कामहरु राम्रो रहेको जनाउनुभयो । उहाँले उपलब्ध साधनस्रोत र जनशक्तिभित्रबाट प्रभावकारी काम गर्न आवश्यक रहेको जनाउनुभयो । नेपालमा स्वास्थ्यकर्मीहरुको जनशक्ति सिमित रहेको उहाँको भनाइ छ ।
स्वास्थ्यमन्त्री पौडेलले जनशक्ति उत्पादनको दायरा नीतिगत पक्षबाट फराकिलो बनाउन कोशिस गरिरहेको जनाउनुभयो । उहाँले तीन सय शय्या क्षमताको सबै अस्पतालमा निजी क्षेत्रको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रिया अघि बढाउन सक्नुपर्ने जनाउनुभयो ।