-खडग पाण्डे
हरिदास योग सिक्दै थिए। टेलिविजनमा योग सिकाउने गुरुलाई आफ्नो गुरु मानि योग सुरु हुनुभन्दा अगाडि टेलिविजनको पूजा आरती गर्ने गर्दथे। योग गुरुले भनेको सबै कुरा अक्षरष पालन गर्दथे। योग गुरु उनको लागि “भगवान” सरह थिय। एक दिन तिनै गुरुबाट टेलिविजन मार्फत योग सिक्दै थिय। गुरुले शास भित्र तान्नुहोस र जव सम्म मैले शास बाहिर फाल्नुहोस भन्दिन तव सम्म शास रोक्नुहोस् भने। हरिदासले आफ्नो शास भित्र ताने र रोके। त्यही बेला बिजुली गयो र टेलिविजन बन्द भयो। हरिदासका गुरुले “श्वासबाहिर फाल्नुहोस” भन्ने कुर्दा कुर्दै आँफै परमधाम भएछन ।
धर्म, गुरु वा परम्परा मान्नु राम्रै होला। तर, आफ्नो विवेक, चेतना र वर्तमान बैज्ञानीक उपलब्धि ख्यालै नगरि अन्धभक्त हुनु भनेको हरिदास हुनु हो। आफ्नो चेतना, स्वविवेकलाई परमधाम पुर्याउनु हो। म धार्मिक मान्छे होईन। ईतिहासका धार्मिक कथा र ती कथाहरुबाट सुरु भएको तीजको वर्त बारेमा अध्ययन गर्दा मेरा मनमा केही प्रश्नहरु उठे। मेरा प्रश्नले तपाईंको धार्मिक आस्थामा चोट पुगेमा क्षमाप्राथी छु। मेरो आलोचनात्मक चेतले उठाएका केही प्रश्नहरु राख्ने अनुमती चाहन्छु।
कथा अनुसार प्राचीनकालमा (त्यो प्राचिनकाल कहिले हो कसैलाई आधिकारिक थाहा छैन) हिमालयका राजा पर्वतकी छोरी पार्वतीले शिवलाई खुव मन पराईछन। मनै देखि शिवलाई वरण गरी उनै शिवको पत्नी हुन पाउ र शिव बाहेक अरु कुनै पुरुषसंग विवाह गर्नु परे मर्ने तर विबहा नगर्ने प्रण गरेकी रहिछन। पर्वतले आफ्नी छोरी ती फकिर जस्ता शिवसंग विवाह गरिदिन मन भएन । पार्वतीले आफूले रोजेको वर पाउन संघर्ष गरिन । अन्तत: पार्वतीले सयौ बर्ष सम्म कठोर ध्यान, तप, व्रत गरेर मन पराएका शिवसंग विवाह गर्न सफल भइन् । हिन्दू पुरोहितका अनुसार पार्वतीले कठोर वर्त, शिव स्तुती, आराधना र तपस्या गरेर शिवले पार्वतीलाई वधुको रुपमा स्विकार गरेको बताउदछन। शिवले पार्वतीलाई श्रीमतीको रुपमा स्विकार गरेको खुशीयालिमा तीज पर्व मनाउन सुरु भएको कथन छ।
तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म हिन्दू नारीहरूले मनाउदै आएको एउटा महत्त्वपूर्ण चाड हो। यो चाड (वर्त) मा पनि शिव र पार्वतीलाईनै मुख्य कलाकार बनाईएको छ। उहिल्यै पितृसत्ताको साम्राज्य भएको “नारी पुरुषका चरणका दासी हुन“, “नारी बोल्यो भने पोथी बासेको” भन्ने जमानाको कुनै सबुत प्रमाण नभएको “देउता”को समयको कथालाई आधार मानि अहिले पनि निराहर बसी शिवलाई खुशी पार्न वर्त बस्नु कत्तिको सान्दर्भिक छ?
कथा अनुसार परब्रह्म भगवान बिष्णुले हिमालय पर्वतकी छोरी पार्वतीसंग विबहा गर्ने ईक्ष्या भएछ। पार्वतीलाई “माग्न” नारदलाई पर्वतराज हिमालयको घरमा पठाएछन। पर्वतराजले कृतज्ञ हुँदै प्रसन्नताकासाथ आफ्नी छोरी बिष्णुलाई “दिने” वचन दिएछन। अर्थात पार्वतिको विवाह बिष्णुसंग गर्ने टुङ्गो भयो। नारद पनि खुशी हुँदै बिष्णुको निवास तिर गएछन।
मेरो पहिलो प्रश्न: कथा अनुसार – पार्वतिको शिव प्रती अगाध प्रेम र समर्पण थियो। पार्वतीले मनै देखि शिवलाई चाह्न्थिन उनै संग विवाह गर्न चाह्न्थिन। यदी बिष्णु परब्रह्म भगवान थिय भने उनले पार्वतीको मनको कुरा किन बुझेनन? यदी बुझेर पनि पार्वतीलाई माग्न पठाएका हुन भने अर्कै पुरुषसंग प्रेम र समर्पण भएकी महिलासंग किन विवाह प्रस्ताव पठाएँ? “परब्रह्म भगवान” ले यस्तो कर्म गर्न हुन्थ्यो? हामीले आदर्श मानिएका देवताहरुले ब्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको देखिएन र? के देवता र ब्यक्तिगत स्वार्थ एकै साथ हुन सक्दछ?
कथा अनुसार- बिष्णुसंग आफ्नो विवाह हुन लागेको कुरा थाहा पाएर पार्वतीलाई ठूलो चिन्ता पर्यो। उनले मनैदेखि भगवान शिवलाई वरण गरेको तर पिताले विष्णुसँग विवाह गरिदिने निर्णयले पार्वती धर्मसङ्कटमा परिन। पार्वतीले आफ्नो सखीसंग भनिन- “अव मैले प्राण त्याग्नु बाहेक कुनै विकल्प देखेकी छैन”। पार्वतिकी सखी चतुर थिईन। चिन्ता र बिलापले केही हुँदैन। अब तिमीलाई घनघोर जंगलमा लैजान्छु जहाँ तिम्रा बा वा अरु कसैले भेट्टाउन सक्ने छैनन। त्यसपछी पार्वतीलाई हरण गरेर जंगलमा लगिएको उल्लेख छ। तीजलाई हरितालिका पनि भनिन्छ। “हरितालिका” शब्दमा “हरिता” र “आलिका” यी दुई शब्दको अर्थ क्रमशः “हरण गरिएकी” र “साथीहरु” भन्ने हुन्छ।
मेरो अर्को प्रश्न हो- पार्वती धर्मसंकट्मा परेको बेला, जो निरास भएर आत्महत्या गर्ने सोच सम्ममा पुगेकी पार्वतीलाई साहस र हौसला दिने पार्वतीकी सखा (साथि) को बारेमा कथा किन मौन छ? त्यो बेलाको हिन्दु परम्परा, पितृसत्ता र समाजसँग विद्रोह गर्न आट र प्रेरणा दिने ती महिलाको बारेमा किन कुनै कुरा लेखियन? कथालाई पत्याउने नै हो भने पार्वतीकी ती सखा (साथि) साच्चिकै बिद्रोही र बिरंगना हुन। तर कुनै देवी देवतासंग नाता संम्वन्ध नभएकाहरु शास्त्रीय कथाहरुमा किन वहिस्कृत गरियो?
मेरो तेश्रो प्रश्न: अहिले बिज्ञानले धेरै अनुउत्तरित प्रश्नहरुको तथ्यगत प्रमाण सहित उत्तर दिदा त अझै “हर हर महादेव- घर घर महादेव” भन्ने ठूलै जमात छ। त्यो समयमा शिवको शक्तिको बारेमा पर्वत किन अनवीज्ञ भए? देवताकै पालामा पनि शिवको शक्तिको बारेमा जानकार नभएको पुष्टि हुँदैन र? शिवलाई “फकिर”, “लफ्ङ्गो” जस्तो भनेर आफ्नो छोरीको विवाह नगर्ने पर्वतलाई केही नगर्ने शिवसंग तपाईं किन डराउनु हुन्छ?।के देउतालेपनी कमजोरहरुलाई मात्र हेप्ने हो?
लौ मानौ पार्वतीले बालुवाको शिवलिङ्ग बनाई पूजा आराधना गर्दा शिव खुशी हुन्छन र वरदान दिएर आफ्नो पत्नी स्विकार गरे। तर सर्वज्ञाता शिवले पार्वतिको आफु प्रतिको समर्पण, त्याग, निश्चल भक्तिभाव र माया थाहा पाउन र आफ्नो पत्नी स्विकार किन बषौसम्म ढिला गरे? आफु प्रती समर्पण भएकी महिलालाई विष्णुले माग्न पठाउदा र विबाहको टुङ्गो लगाउदा समेत शिव किन मुक दर्शक भए? कथामा तालमेल बिग्रिएको छ।
अब थोरै ऋषिपञ्चमीको चर्चा गरौ। वेद र पुराणमा बर्णित गरे अनुसारका ऋषिहरु सबै ब्राह्मण वा राजा – महाराजा वा तिनका संन्तान वा तिनका पुरोहित वा छेत्रीय भएको उल्लेख छ। त्यसबाट के प्रष्ट हुन्छ भने ती सबै “उच्च” खानदानका थिय। अर्थात शासक वा “मालिक” वर्गका थिय। अनौठो कुरा के उल्लेख छ भने कामधेनु गाईको लागि वशिष्ठ र विश्वामित्र बिच युद्दनै भएको छ। महाभारत र विष्णु पुराण अनुसार ऋषि कश्यपका सत्र श्रीमती थिय, भागवत पुराण र मार्कण्डेय पुराण अनुसार तेह श्रीमती र मत्स्य पुराण अनुसार नौ श्रीमती थिय रे। श्रीमती कती थिय सम्म एकिन नभएका कथाका पात्रहरुलाई हामी कसरी पत्याउने? बहु-बिवाह गर्नेलाई महिलाले किन पुज्ने? रोचक कुरा त के छ भने ऋषि गौतमकी पत्नी अहिल्यालाई इंद्रले छलपूर्वक गौतम ऋषिको रूप धारण गरेर अनैतीक संवन्ध राखेका थिए रे। जब गौतम ऋषिले यो कुरा थाहा पाए, गौतमले अहिल्यालाई श्राप दिएर ढुङ्गाको मूर्ति बनाई दिए। मेरो प्र्श्न छ- ईन्द्र जस्तो देवताले छल गर्नु हुन्थ्यो? ऋषिको पत्निलाई समेत छलकपट गरी बलत्कार गर्ने ईन्द्रलाई के कार्यवाही भयो? गौतम ऋषिले ईन्द्रले छल गरेको किन थाहा पाएनन? यदी थाहा पाएको भए अहिल्यालाई किन श्राप दिएर ढुङ्गाको मुर्ती बनाए? पूज्य हुन कठोर नैतिक आचरण, सेवाभाव, उदाहरणनिय पात्र हुनु पर्दछ। छल गरेर अर्काकी श्रीमती बलत्कार गर्ने ईन्द्र किन पूजनिय भए ?
पुरेत र पण्डितका शास्त्र अनुसार महिनावारी भएको बेला महिलाहरु अपवित्र हुन्छन। उनिहरुका अनुसार मासिक चक्रको पहिलो दिन महिला ब्रह्मघाटिनी हुन्छिन्, दोस्रो दिन चण्डालिनी, तेस्रो दिन धोबिनी हुन्छन र चौथो दिन नुहाई–धुवाई गरेर ऋषिको नाममा व्रत बसी पूजाआजा गरेपछि मात्र शुद्ध हुने कथन छ। अझ महिलाहरुलाई थप भएभित बनाउदै उत्तङ्काको छोरीको डरलाग्दो कथा उल्लेख गरेको पाईन्छ। कथा अनुसार उत्तङ्काको छोरीले आफु महिनाबारी हुँदा समानहरु, रुख बिरुवाहरु र अन्य मानिसहरुलाई समेत छोएको हुँदा उनको श्रीमानको मृत्यु भएको र शरीरभरी किरा परेको जस्ता कहाली लाग्दा कुरा उल्लेख छ। रजश्वला हुँदा सास्त्रमा उल्लेख भएका बन्देज पालन नगर्दाको दोष भनी महिलालाई आतङ्गकित गरेको पाईन्छ। यिनै दुषित मिथकहरुको अज्ञानता, भय र आतङ्गको मनोबिज्ञानले आज सम्म पनि महिलालाई लखेटिरहेको छ। यी र यस्तै कुप्रथाले गर्दा छाउपडी बार्नैपर्ने, महिनाबारीमा छोइछिटो गर्नैपर्ने जस्ता प्रचलन विधमान छन। के महिलाहरुले आफुलाई विभेद गरेको कुप्रथा उत्सवको रुपमा मान्नु उपयुक्त हो? के अहिलेको युगमा पनि पौराणिक दन्त्यकथालाई स्विकार गरी आँफैलाई “अपवित्र” घोषणा गरी एकै समयमा ३६५ पटक नुहाएर, ३६५ वटा दतिवन टोकेर खोलामा बगायो भने रजस्वला हुँदाको समयमा भएको पापबाट मोक्ष भइने विश्वाश गर्नु आदिम युगको सोच होईन र? प्राकृतिक प्रकृयालाई पनि आँफैलाई “अपवित्र” ठान्ने सोचले के महिला मुक्ति संभव छ? अपवित्रता, पाप र श्रापको भए बाट छुटकरा कहिले हुने? धर्मको नाममा काल्पनिक र आधारहिन कर्म नगरौ। माथि उल्लेखित ऋषिहरु जो आँफैमा संधिद्द छन के तिनिहरुले महिलाको पक्षमा काम गर्दछन भन्ने लाग्दछ?
तपाईं धार्मिक हुनुहोस त्यसमा मेरो बिमती छैन। तपाईंको नैतिक चरित्र वा आचरण, व्यबहार, सामाजिक मूल्य तथा मान्यता, परोपकारी भावना, प्रेम, करुणा, दयाभाव, सदभाव र सहयोगलाई धर्मको रुपमा रुपान्तरण गर्नुहोस। कसैको उपकार, रक्षा, संरक्षण, सत्विचार, सकरात्मक् हुनु धर्म हो। समान र बिभेदरहित ब्यवहार, कृतज्ञ हुनु धर्म हो। खराव कर्म नगर्नु धर्म हो। खराव कर्म नगरे “पाप” लाग्दैन। पाप पखाल्न वर्त, पूजा, भजन केही गर्नु पर्दैन। टोल, छिमेक वा आफन्तले के भन्छन, परम्परादेखि चलेको भन्ने नाममा आफुले आँफैलाई दन्तेकथाको दासी पात्रमा रुपान्तरण गर्दा आफुले आँफैलाई प्रश्न गर्नुहोस। संस्कृति जोगाउने नाममा नारिहरुलाई आदिम युगतिर धकल्नेहरुको लामबाट आफुलाई मुक्त गर्नुहोस।
तीजलाई पारिवारिक पुनर्मिलनको पर्वको रुपमा मनाउनु होस। आफू जन्मे- हुर्केको घर- आगन, बाबु-आमा, दाजु-भाई, दिदि-बैनी, इष्टमित्र र समाजसंग सामिप्यको पर्वको रुपमा मनाऔ। आफ्ना बालसखाहरु, वालापनको स्मरण ताजकी गर्नुहोस। आफ्नालागि “माईति”ले गरेको माया, र योगदान प्रती कृतज्ञता जाहेर गर्नुहोस। खानुहोस, गाउँनुहोस, नाच्नुहोस, रमाउनुहोस तर लैङ्गिक विभेदकारी, नारीलाई भोग्य दासी बनाईयका शास्त्रको उल्टो बाटो नहिडौ।
समस्त नारीहरु प्रती तीजको शुभकामना !