-जानकी पाण्डे,
भारतमा एक महिलामाथि हालै एउटा डरलाग्दो घटना भयो । कोलकाताको आरजी कर अस्पतालकी ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो । ती चिकित्सकको शव आरजी कर मेडिकल कलेजको सेमिनार हलमा अर्धनग्न र चोटपटक लागेको अवस्थामा फेला परेको थियो । अस्पताल स्रोतका अनुसार ती महिला चिकित्सक आफ्नो ड्युटी सकेर आराम गर्न गएकी थिइन् । घटनाको विरोधमा भारतको कोलकाता, नयाँदिल्ली, हैदराबाद, मुम्बई, पूणे, लखनऊ, अहमदाबाद, गुहावटी, चेन्नई प्रयागराज लगायतका सहरहरूमा पनि विरोध प्रदर्शन गरिएको छ । तीमध्ये अधिकांश प्रदर्शनको नेतृत्व चिकित्सकहरूले गरेका छन् । चिकित्सकहरुले स्वास्थ्य सेवाकर्मीलाई हिंसाबाट जोगाउन केन्द्रीय सुरक्षा ऐन लागू गर्न माग गरिरहेका छन् । हत्याको विरोधमा नेपालमा पनि प्रदर्शन गरिएको छ । वैज्ञानिक समाजवादी विद्यार्थी र महिला संगठनले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो । नेपालमा महिलामाथिका यस्ता घटना थुप्रै छन् । निर्मला हत्याकाण्ड यस्तै एउटा उदाहरण हो । निर्मलाको बलात्कारपछि हत्या भएको यतिका वर्ष पुगे पनि अपराधमा संलग्नको अझै पहिचान र कारबाही हुन सकेको छैन । यस्तै, धनुषाको मिथिला बिहारी नगरपालिका–३ घर भई जनकपुर उपमहानगरपालिका–९, थापाचोक बस्ने २३ वर्षीया आरतीकुमारी साहको दाइजोको निहुँमा २०८० साल जेठ ७ मा हत्या भयो । पीडित पक्षको उजुरीका आधारमा हत्या आरोपमा प्रहरीले आरतीका ३२ वर्षीय पति मोतीबाबु साह र ससुरा ७० वर्षीय मदनमोहन साहलाई पक्राउ ग¥यो । यस्तै, रुपन्देहीको सैनामैना नगरपालिका–१० की १४ वर्षीया बालिकालाई झारफुकको बहानामा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सैनामैना–१० की २२ वर्षीया सोनिया रेश्मीलाई २०७९ फागुन २१ गते पक्राउ ग¥यो । आफूलाई माता बताउने सोनियाले पीडित बालिकालाई भुँइमा लडाएर घोप्टो पारी शरीरमाथि चढेर हातमा घन्टी बजाउँदै गालामा थप्पड हान्दै गरेको भिडिओ सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । अन्तर्राष्ट्रिय स्तरमा महिला दिवस मनाउन थालेकै ११४ वर्ष भइसक्यो। नेपालमै पनि २०१६ सालदेखि महिला दिवस मनाइँदै आएको छ । ६४ वर्षयता नेपालमा राजनीतिक परिवर्तनले फड्को मारेको छ । महिलाका पक्षमा थुप्रै कानून र सुधारका काम पनि भएका छन्। नेपालको संविधानमै महिला अधिकारको विषयलाई मौलिक हकका रूपमा समेटिएको छ भने नेपाल संयुक्त राष्ट्रसंघले जारी गरेको महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि–१९७९ को पक्षराष्ट्र समेत हो । यस्तै, महिलासँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय प्रावधानमा नेपालले प्रतिबद्धता पनि जनाएको छ । यति हुँदाहुँदै पनि महिलामाथिको हिंसा र चरम हिंसाका घटनामा कमी आउन सकेको छैन । महिलासँग सम्बन्धित कानूनी प्रावधान एवं राजनीतिक सहभागिताको अवस्थामा उल्लेख्य सुधार हुँदाहुँदै पनि नेपालका महिला विभिन्न खाले संरचनात्मक एवं लैंगिक हिंसाबाट पीडित हुँदै आएको तथ्यांकले देखाउँछ । किन महिलामाथि हिंसा घट्न सकेको छैन त ? महिला भएकै कारण किन असुरक्षित हुनुपर्ने त ? खासमा हाम्रो हुर्काइ नै महिलालाई निषेध र पुरुषलाई जेसुकै गर्न पाउने खुलापनबाट सुरु हुन्छ । तिमी महिला हो र तिमी पुरुष सरह शारीरिक र मानसिकरुपले बलियो होइन भन्ने मानसिकता सर्वप्रथम आमाबाट पहिले खुलेर महसुस गराइने र अहिले पूर्णरुपले नभए पनि कुनै न कुनै व्यवहारबाट तिमी छोरी भएर जन्म लिएकोले तिमी पुरुषसरह सम्पूर्णरुपमा सबल छैन है भन्ने मानसिकताबाट गुजरिनु पर्ने अवस्था छ । हाम्रो कानूनमा पनि महिला विरुद्धको हिंसा सम्बन्धी मुद्दाहरु भनी यी मुद्दाहरु उल्लेख भएको पाइन्छ, जस्तै अंश, माना चामल, विवाहसम्बन्धी, नाता कायम, करणीसम्बन्धी अपराध, जबर्जस्ती करणी र हाडनाता करणी, घरेलु हिंसा, गर्भपतन जातक हत्या, मानव बेचबिखन तथा ओसारपसार÷जीउ मास्ने बेच्ने र बोक्सी । महिलामाथि हुने जघन्य हिंसामध्ये महिला भएकै कारण जबर्जस्ती करणीको शिकार हुनुपर्ने अवस्था छ । जबर्जस्ती करणीको शिकार हुनुको पछाडि समाजले अश्लील कपडा लगाएर हिडेकी कारण, केटा साथीसंग अबेरसम्म बाहिर रहेको कारण, केटीको चरित्र नराम्रो भएकोले जस्ता आरोप लगाउँदै आएको छ । नेपाली समाजको सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तन, मानिसमा वृद्धि भएको चेतनास्तर, साक्षरतामा भएको वृद्धि, कानूनी तथा प्रशासनिक संयन्त्रमा गरिएको सुधारका प्रयासले महिला हिंसाका घटना प्रकाशमा ल्याउन मद्दत पुगेको बताइन्छ । तर कहिलेसम्म महिलाले हिंसा सहिरहनुपर्ने? यसको उत्तर राज्यसंयन्त्र सञ्चालकसँग होला कि नहोला ? महिला हिंसाका घटनालाई गम्भीर प्रकारको अपराधका रूपमा स्वीकार गरिए पनि महिला र पुरुषबीच रहेको असमान शक्ति सन्तुलन, महिलाको आर्थिक परनिर्भरता र कानूनको कमजोर कार्यान्वयन भइरहेसम्म यस किसिमका अपराधमा कमी आउँदैन । यद्यपि सरोकारवालाको संयुक्त प्रयास र कानूनको प्रभावकारी कार्यान्वयनले यस्ता घटनालाई न्यूनीकरण गर्न अवश्य सकिन्छ । गरीबी निवारण, महिला साक्षरता र महिलाहरुलाई नै केन्द्रमा राखेर आर्थिक सशक्तीकरणका कार्यक्रमलाई तत्कालै प्रभावकारी रूपमा अगाडि बढाउन सक्ने हो भने पुरुष प्रधान समाजको दुस्प्रभाव महिलाहरुमाथि कम हुने आशा गर्न सकिन्छ ।