काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको विषय कूटनीतिक क्षेत्रमा अहिले चर्चाको विषय बनेको छ ।
चर्चा यसकारण कि परराष्ट्रमन्त्री राणा देउवालाई भारतीय प्रधानमन्त्री मोदीले कसरी सहजै भेट दिए ? किनभने यसअघि यति सजिलै नेपालका कुनैपनि परराष्ट्रमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई सायदै भेटेका थिएनन् । तर, एमाले र कांग्रेस गठबन्धन सरकारकी परराष्ट्र मन्त्री राणाले भने मोदीसँग सहजै भेटवार्ता गरिन् । कतिपयले आरजुको व्यक्तिगत सम्बन्धका कारण पनि प्रधानमन्त्री मोदीसँगको भेटघाट सहज र सम्भव भएको जनाएका छन् ।
परराष्ट्रमन्त्री देउवाको भारत भ्रमण तयारी भइरहँदा प्रधानमन्त्री मोदीसँगको भेटघाटलाई कार्यतालिकामा राखिएको थिएन । यद्यपि राणाले व्यक्तिगत रूपमा प्रधानमन्त्री मोदीसँग भेट्ने तयारी भने गरिरहेकी थिइन् । भारत भ्रमणमा गइसकेपछि पनि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ कि हुँदैन भन्ने अन्योल कायमै थियो । तर मन्त्री देउवाले व्यक्तिगत पहुँचका आधारमा त्यसलाई सम्भव बनाइन् ।


