काठमाडौं । वाइवाइको उत्पादक कम्पनी सिजी फुड्सले ट्रेडमार्क मुद्दा जितेको छ।
करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले वाइवाइको जस्तै ट्रेडमार्क राखेर बिक्री गरेपछि सिजीले मुद्दा दायर गरेको थियो। ३२ साउनमा न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले यशोदा फुड्सलाई अर्काको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो।
करेन्ट चाउचाउले वाईवाईको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सिजी फुड्स नेपाल लिमिटेड अदालत पुगेको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाईको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध यशोदा फुड्स वाईवाईविद्धद्ध सर्वोच्च गएपछि त्यहाँबाट पनि मुद्दा हारेको हो। सर्वोच्चले पनि उच्चकै आदेशलाई सदर गरेपछि अब यशोदा फुड्सले अहिलेको भन्दा फरक ट्रेडमार्कमा चाउचाउ ल्याउनुपर्ने भएको छ।
चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातिलाई दुरुपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले आफ्नो ट्रेडमार्क नक्कल गरेको सिजी फुड्सको दाबी छ।
यस आदेशसँगै वाईवाईको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ। यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत् रूपमा बिक्री वितरण गरिए अदालतको मानहानी गरेको मानिने भएकाले यस्तो कार्य नगर्न अदालतले आदेश दिएको हो।


