काठमाडौं । सरकारले संक्रणकालीन न्याय सम्बन्धी विधेयक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा पेस भएको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ आज माथिल्लो सदनमा पेस भएको छ।
राष्ट्रियसभामा अब यो विधेयकमा संशोधन खुल्ला गरिएको छ। अध्यक्ष दाहालले विधेयक शाखामा सांसदहरूले संशोधन दर्ता गराउन सक्ने पनि जानकारी गराए । यो विधेयक अब भदौ ६ गतेको राष्ट्रियसभा बैठकमा पेस हुनेछ । उक्त बैठकमा संशोधन दर्ता भएमा त्यसमाथि छलफल हुनेछ ।
दलीय सहमतिका आधारमा प्रतिनिधि सभा हुँदै राष्ट्रियसभा पेस भएकाले मुख्य दलहरूका तर्फबाट संशोधन दर्ता हुने सम्भावना न्यून रहेको छ। तर स्वतन्त्र सांसदहरूले संशोधन दर्ता गराउन सक्नेछन् । उनीहरूको संशोधनपछि यसलाई निर्णयका लागि पेस गरिने छ। राष्ट्रियसभामा उक्त संशोधनका पक्षमा बहुमत भए समावेश गरिन्छ नभए फेल गराउँदै निर्णय गरिने छ। राष्ट्रियसभाबाट पास भएपछि यसले कानुनको रूप ग्रहण गर्नेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै यो विधेयक राजपत्रमा प्रकाशित भएर लागू हुनेछ।


