काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा देशको मूल्यवृद्धि दर ५.४४ प्रतिशत कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदनअनुसार यस्तो मूल्यवृद्धि अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा २.३ प्रतिशत विन्दुले घटेको हो ।
अघिल्लो आर्थिक वर्षमा मूल्यवृद्धि ७.७४ प्रतिशत थियो । असार महिनाको मूल्यवृद्धि औसतभन्दा न्युन देखिन्छ । गत असारमा उपभोक्ता मूल्यवृद्धि ३.५७ प्रतिशत मात्रै देखिन्छ ।
जबकि २०८० असारमा मूल्यवृद्धिदर ७.४४ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ र तरकारीको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप– समूहको मूल्य सूचकाङ्क १०.९९ प्रतिशतले घटेको छ ।


