पोखरा – मानव बेचविखन तथा ओसारपोसर कसुरमा पोखरामा चिनियाँ नागरिकसहित तीन जना पक्राउ परेका छन्। १४ वर्षीय बालिकालाई अभिभावकको जानकारी बिना चिनियाँ नागरिकसँग विवाह गराएको आरोेपमा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा चीनको हुनान प्रान्त घर भइ पोखराको पारामाउण्ट गेष्ट हाउसमा बस्ने ३१ वर्षीय झि मिङ चेन, लमजुङ घर भइ पोखराको सँगमटोल बस्ने २२ वर्षीय सरु विक र पोखरा आर्बाकी ३४ वर्षीय भगवती अधिकारी रहेका छन्।
सरु र भगवती मिलेर ती १४ वर्षीया बालिकालाई ‘तिमी दुःख पाउने केटी रहेछौ। हामीले चाईनिज नागरिकलाई चिनेका छौं। तिमि उसँग विवाह गरेऊ भने तिम्रो भविश्य बन्छ’ भन्दै प्रलोभनमा पारेको थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माका अनुसार अभिभावकलाई खबरै नगरी बालिकाको झि मिङसँग साउन १३ गते विहे गराइदिएका हुन्।
लेकसाइडस्थित होटल मिराकलमा बन्धक बनाई राखेको अवस्थामा पीडित नावालिका भाग्न सफल भएपछि घटना बाहिरिएको हो।
बालिकाको आमाले मंगलबार होटलमा बन्धक राखेको भन्दै प्रहरीमा उजुरी दिएकोे डिएसपी शर्माले बताए। पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।