काठमाडौं । नवलपरासी पश्चिम, सरावल गाउँपालिका-७ बर्गदवा बस्ने बृजेश राजभरको छोरा ८ वर्षीय सुरेन्द्र राजभरको घर नजिकै रहेको खजुरा खोलामा डुबेर शुक्रबार साँझ मृत्यु भएको छ ।
नाग पञ्चमीको पुत्ला बगाउने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । मोरङ, बेलबारी नगरपालिका-९ सभापुर बस्ने ४४ वर्षीय नतिलाल चौधरीको सोही ठाउँस्थित कुलोमा डुबेर शुक्रबार राति मृत्यु भएको छ । सर्लाही, चक्रघट्टा गाउँपालिका-३ सुन्दरपुर बस्ने संजिव रायको छोरा ३ वर्षीय अंशु रायको घर नजिकै रहेको ढाङ्ग्रा खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । कास्की, पोखरा महानगरपालिका-५ मालेपाटन डेरा गरी बस्ने सिन्धुली घर भएका ८ वर्षीय अमित पैजु सोही ठाउँस्थित नहरमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।