काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । सोमबार दिँउसो सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर राजदूत सङले गृहमन्त्री लेखकसँग बधाई ज्ञापनसहित भेटवार्ता गरेका हुन् ।
भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सँधै सौहार्द्रपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । यस्तै उनले नेपालको पूर्वाधार विकास लगायतका क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको बताए।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए। साथै गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयले जनाएको छ ।