काठमाडौं । ‘सरकारबाहिर रहेका राजनीतिक दलहरूसँग मिलेर संसद्मा प्रभावकारी भूमिका खेल्ने निर्णय भएको छ । अर्को वामपन्थी, देशभक्त शक्तिहरूबिच मोर्चाबन्दी गरेर प्रतिगमनविरुद्ध सडक संघर्ष गर्ने निर्णय भएको छ । संविधान संशोधन, भ्रष्टाचार, अनिमियताविरुद्ध सशक्त प्रतिरोध गरिने छ । त्यसका लागि १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्ताबेज पेस गर्न कार्यदललाई निर्देशन दिएको छ,’ यादवले भने ।
नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले कमि कमजोरीबारे सबैले आत्म समीक्षा गरेको बताए । कांग्रेस एमाले प्रतिगमनतर्फ उन्मुख भएकाले विचार मिल्ने वामपन्थी शक्तिबिच एकता र ध्रुवीकरण गरेर जानेबारे छलफल भएको जानकारी दिए । तर माओवादी, एकीकृत समाजवादी, नेसपा र नेकपाबिच तत्काल पार्टी एकता गर्ने विषयमा कुनै निष्कर्षमा नपुगेको जिकिर गरे । पार्टी एकताको विषयमा आगामी दिनमा छलफल हुने उनको भनाइ थियो ।
‘पहिलो कुरा प्राप्त उपलब्धिको रक्षाका निम्ति मोर्चालाई सशक्त र प्रभावकारी ढंगबाट लैजाने कुरा भयो । अर्को सँगै सहकार्य र काम गर्दै जाँदा एकता गर्ने कुरा आफ्नो ठाउँमा छँदैछ । बैठकमा पार्टी एकता नै गर्ने हिसाबले छलफल भए पनि निष्कर्षमा पुगेका छैनौँ’, श्रेष्ठले भने खासगरी प्रतिगमनविरुद्ध कसरी प्रतिवाद गर्ने भन्नेबारे गम्भीर समीक्षा भएको छ । यसबारे कार्यदलले दस्ताबेज पेस गरेपछि ठोस कार्ययोजनासहित कार्यक्रम बनाउने निर्णय भएको छ ।’
- आफ्नो सुझाव प्रचण्डले नमानेको माधवको गुनासो
बैठकमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो सुझाव प्रचण्डले नमान्दा परिस्थिति बिग्रिएको बताए । सरकारमा रहँदा महत्त्वपूर्ण राजनीतिक बैठकमा उपेक्षा गरेकोमा पनि उनले गुनासो पोखेका थिए । एमालेका अध्यक्ष केपी ओलीको विश्वास गर्दा समीकरण भत्किएको नेपालले बताएका थिए ।
‘प्रचण्डजीले ओलीलाई विश्वास गर्नु आफ्नो कमजोरी भएको स्वीकार गर्नुभयो भने आफ्ना धारणा राख्ने क्रममा माधवजीले ओलीलाई विश्वास गर्नुहुँदैन, जुनसुकै बेला धोका दिन सक्छन् भनेर आफूले पटक–पटक सुझाव दिँदा पनि प्रचण्डले नमानेको, सरकारमा रहँदा राजनीतिक छलफलमा आफूलाई बाइपास गरेको भनेर गुनासो गर्नुभयो,’ सहभागी अर्का एक सदस्यले रातोपाटीलाई जनाए ।
अब जे भए पनि संविधान संशोधन, भ्रष्टाचार, अनियमितताको विषयमा एकजुट भएर प्रतिवाद गर्नेमा सबै एकमत रहेको ती सदस्यले जनाए ।