काठमाडौं । काठमाडौंस्थित होटलमा बस्दै आएका २ जना विदेशी नागरिकलाई १ किलो १ सय ग्राम अवैध लागूऔषध कोकिन सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नाइजेरियन नागरिक ४४ वर्षीय IKECHUKWU CYRIL OBODOEFULA र भारतीय नागरिक २४ वर्षीय FAHIMUDDIN NASIMUDDIN ANSARI रहेका छन् । काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थानस्थित होटल बागमतीको कोठा नम्बर १०४ मा बसेका नाइजेरियन नागरिकलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
सोधपुछको क्रममा कोकिनका क्याप्सुलहरू काठमाडौं महानगरपालिका-२६ स्थित होटल हानाको कोठा नम्बर १०२ मा बस्दै आएका भारतीय नागरिकलाई दिएको भनी खुल्न आएपछि उनको कोठा तलासी गर्दा ६२ वटा क्याप्सुलहरूबाट उक्त परिमाणको कोकिन फेला परेको हो ।
उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा पेस गरी लागूऔषध कोकिन मुद्दामा म्याद थप गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।