काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ । तर हराइरहेका बस अझै फेला परेको छैन ।
भेटिएका शवमध्ये नौ वटा शवको सनाखत भएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । साथै चार पुरुष र एक महिला गरी पाँच वटा शवको पहिचान हुन बाँकी रहेको छ ।
हराइरहेका अन्य यात्रु तथा दुबै बसको खोजी कार्य सोमबार पनि जारी रहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौँबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेका दुई बस शुक्रबार बिहान पहिरोले बगाएपछि त्रिशूली नदीमा खसेको थियो ।
वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा भएको यात्रु सङ्ख्या चलानमा भए बमोजिम २७ र आफन्तजन सम्पर्कमा आई विवरण दिएको आधारमा ११ गरी ३८ जना यात्रु सवार थिए ।
त्यस्तै काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपती डिलक्स बसमा चलानमा भए बमोपजम २४ र आफन्तजन सम्पर्कमा आई विवरण दिएको आधारमा तीन गरी २७ जना यात्रु सवार थिए । दुई वटा बसमा गरी ६५ जना यात्रु रहेको अध्यावधिक विवरण रहेको सह प्रवक्ता थापाले जानकारी दिनुभयो ।
सडकबाट नदीमा खस्दै गर्दा काठमाडौँबाट गौर जाँदै गरेको बसका तीन यात्रु भने बाँच्न सफल भएका थिए ।