काठमाडौं । ललितपुरको पुल्चोकमा रहको सुमेरु बचत तथा ऋण सहकारी संस्थालाई पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले ‘टेक ओभर’ गरेका छन् ।
२३ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीको पुल्चोक, धापाखेल, गठ्ठाघर शाखा र काठमाडौं महानगरपालिका कालिमाटीमा रहेको त्यही नामको संस्थाले बचतकर्ताको १० अर्ब ३४ करोड ७ लाख ३९ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ । उक्त रकम ठगेर सहकारीका अध्यक्ष भरत महर्जन बेलायतमा लुकेका छन् । उनलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ ।
महर्जन परिवारका सबै सदस्य, नागागोता, आफन्त मिलेर चलाएको सहकारीको बचत विद्यालय, अस्पताल, होटल, घर जग्गा, रेष्टुरेन्ट लगायत अन्य कम्पनीमा लगानी रहेको छ ।
महर्जनले ठगेको सबै रकम फिर्ता गर्ने गरी सिंहले सहकारी सकारेका हुन् । सिंहले आफ्ना विश्वासपात्र व्यापारी विरेन्द्र महर्जनलाई अध्यक्ष बनाएका छन् ।
सहकारी सकारेपछि २०८१ असार ३ गते संस्थाको २३ औं वार्षिक साधारणसभा समेत सम्पन्न भएको छ । सभाले अध्यक्षमा महर्जनलाई चयन गरेका हो । यस्तै उपाध्यक्षमा हरिश चन्द, सचिव ओर्बिन गुरुङ, कोषाध्यक्षमा राजन राई चयन भएका छन् । यस्तै सदस्यहरुमा गोकुल बहादुर रोकाया, धुब्र बहादुर शाह र अनिल मल्ल रहेका छन् ।
सभाले लेखासमिति समेत चयन गरेको छ । लेखा समितिको संयोजकमा दिनेश तथा सदस्यहरुमा एकराज बराल, मित्रलाल चौधरी रहेका छन् ।
सभाले गरेको सबै निर्णयका साथै संस्था सञ्चालन गर्ने सम्बन्धी सञ्चालक समितिले तयार गरको कार्य योजना र प्रतिबद्धता समेत सहकारी विभाग, सीआईबी, ठूला करदाता कार्यालय, महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलाई जानकारी गराइएको छ । त्यस्तै बागमती प्रदेशको सहकारी महाशाखालाई पनि जानकारी गराइएको छ ।
सिंहले उक्त सहकारीलाई ‘टेक ओभर’ गर्दा सबै दायित्व लिने जनाएका छन् । बचतकर्ताको सबै बचत फिर्ता गर्नुका साथै सहकारीको सबै सम्पत्ति पनि सकार्ने भएका छन् । उनले दशैं अघि सबै सदस्यको बचत फिर्ता गर्ने तयारी गरेको बताइएको छ ।