इनरुवा / नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले सत्तासमीकरण परिवर्तनलाई लिएर कोही पनि आत्तिन नपर्ने जनाएका छन् । बुधबार नेपाल प्रेस युनियनले इटहरीमा गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले सत्तासमीकरण परिवर्तनपछि केही नेता र पार्टी आत्तिएका जनाए ।
प्रतिनिधिसभा सदस्य कोइरालाले सत्तासमीकरण बदलिएपछि विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आत्तिएको र त्यसैकारण लामिछानेले मङ्गलबार गलत प्रतिक्रिया दिएको उल्लेख गरे ।
कांग्रेस–एमालेबीच समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन आलटाल गर्नु राम्रो नभएको उनको भनाइ थियो । दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने आशङ्का व्यक्त भइरहेको भन्दै उनले दुई पार्टीले राम्रो काम गरेर यस्ता आशङ्का चिर्नुपर्नेमा जोड दिए ।