काठमाडौं । रोमानियाविरुद्ध ३–० को सहज जित निकाल्दै नेदरल्यान्ड्स युरो–२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार एलियन्ज रंगशालामा सम्पन्न खेलमा डच टिमलाई जित दिलाउन डनयल मालेनले दुई र कोडी गाक्पोले एक गोल गरे । खेलको २०औँ मिनेटमा गाक्पोले गोल गरेपछि नेदरल्यान्ड्सले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । मालेनले ८३औँ मिनेटमा गोल गर्दै डच टिमको अग्रता दोब्बर पारे ।
इन्जुरी समयमा मालेनले नै गोल गरेपछि नेदरल्यान्ड्सले ३–० को जित पक्का गरेको हो । मंगलबार नै भएको अर्को प्रि–क्वार्टरफाइनलमा अस्ट्रियाविरुद्ध २–१ को जित निकाल्दै टर्कीले पनि अन्तिम–८ मा स्थान बनाएको छ । टर्कीको जितमा दुवै गोल मेरिह डेमिरालले गरे । अस्ट्रियाका माइकल ग्रेगोरिचले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।
सेमिफाइनल प्रवेशका लागि अब नेदरल्यान्ड्सले टर्कीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यो खेलसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स र टर्कीयाले अन्तिम–८ को यात्रा तय गरेका छन् ।