काठमाडाैं । एनआईसी एशिया बैंक र चन्द्रागिरि नगरपालिकाबीच सम्झौता भएको छ । चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी असार १९ गते सम्झौता गरिएको बैंकले जनाएको छ ।
नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रूपमा एनआईसी एशिया छनोट भई मुद्दती खाता यस बैंकमा सञ्चालन हुनेगरी नगरपालिका र बैंकबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनिया र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरेका छन् ।
चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधनसहित २०८०) अनुसार नगरपालिका भित्र मिति २०८० श्रावण १ गते वा सो मिति भन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात् परिपक्व हुनेगरी उनीहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ ।
नगरपालिकाको कार्यविधि अनुसार यस नगरमा स्थायी बसोबास गर्नुहुने महानुभावहरूका छोराछोरीहरू यो योजनाबाट लाभान्वित हुन सक्नुहुनेछ र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५/५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा यस एनआईसी एशिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ ।
यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ । यस योजनामा सामेल हुने ग्राहकहरूको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्नेछ ।