काठमाडौं / काठमाडौंमै दर्जनौं व्यापारीसँग संगठित रुपमा अर्बौं रकम ठगी भएको खुलेको छ । व्यापारिक दृष्टिकोणले मुख्य स्थानमा पर्ने कलंकीमा सटरहरु सञ्चालनका लागि भन्दै व्यापारीहरुबाट ५ अर्बभन्दा बढी रकम ठगी भएको हो ।
न्युरोड, महाबौद्ध र ओटुको होलसेल मार्केट कलंकीमा सार्ने भन्दै करिब १ हजार ३ सय जनाबाट ५ अर्बभन्दा रकम उठाइएको हो । काठमाडौं प्रहरीले ठगीको आरोपमा प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र बज्राचार्यसहित ६ जनालाई पक्राउ गरेको छ । कलंकी ट्रेड सेन्टरका व्यापारिक ईकाई (सटर) हरुको स्वामित्व हस्तान्तरण गर्ने भन्दै ठगी गरेको आरोपमा उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं लाजिम्पाटका ६८ वर्षीय बज्राचार्यसहित राजु महर्जन, ललितपुर महानगरपालिका राजेशकृष्ण श्रेष्ठ, पाल्पा तानसेनका निरन्जन कुमार श्रेष्ठ, कास्कीका घर भएका चिरञ्जीवी पौडेल र स्याङ्जाका शान्तिरमण पंगेनी छन् । बज्राचार्य न्युरोड कम्प्लेक्समा रहेको कलंकी डेभलपर्स र मिला ल्यान्ड डेभलपमेन्ट प्रालिको सञ्चालक समितिका अध्यक्ष समेत हुन् । उनले सटरहरुको स्वामित्व हस्तान्तरण गर्ने भन्दै १३ करोड ७३ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको काठमाडौं प्रहरीले जनाएको छ ।
पक्राउ परेका अन्य व्यक्तिले सटर दिने भन्दै व्यापारीबाट रकम उठाएका थिए । उनीहरुले ४० लाखमा सटर दिने भन्दै व्यवसायीबाट रकम उठाएको पनि प्रहरीले बताएको छ । उनीहरुले यसरी ५ अर्बभन्दा बढी रकम संलकन गरेको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन)को कसुरमा पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा कलंकी ट्रेड सेन्टर (केटीसी) का करिब ४ सय जना लगानीकर्ता र नेशनल बिजनेस ट्रेड सेन्टर (एनबीटीसी)का १५ जना लगानीकर्ताले जाहेरी दिएका थिए । परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार कम्फर्ट हाउजिङसमेतमा लगानी गरेका र प्राइम बैंकमा सञ्चालकसमेत रहिसकेका नरेन्द्र बज्राचार्यलगायतका व्यक्तिको समूहले काठमाडौंको महाबौद्ध, न्युरोड, ओटु, भोटेबहाललगायत स्थानमा होलसेल व्यापार गर्ने व्यापारीहरूलाई प्रलोभनमा पारेको खुलेको छ ।
‘बज्राचार्यले नै मिला ल्याड डेभलपमेण्ट प्रालिबाट कलंकीमा एनबीटीसी सञ्चालनमा ल्याउन लागेको र त्यो अत्यन्तै ठूलो होलसेल मार्केट हुने भन्दै लगानी गर्न सुझाएपछि ठगीको प्रपञ्च शुरू भएको देखिन्छ,’ उनले भने । बल्खु र कलंकीको बीचमा २०६९ बाट निर्माण शुरू गरेको एनबीटीसी देशकै ठूलो होलसेल मार्केट हुने विश्वास बज्राचार्यले दिलाएका थिए । साथै पार्किङ सुविधासहितका सटर पनि किन्न पाइने बज्राचार्यको योजनाबाट व्यापारीहरू आकर्षित बनेको पाइएको छ ।
निर्माण सम्पन्न भएलगत्तै लालपुर्जासमेत दिने भनेर प्रति सटर कवल औसतमा ४० लाखका दरले डेभलपर्सले रकम उठाएका थिए । रकम उठाउँदा दुई पक्षबीच सम्झौता गरी तोकिएको अवधिभन्दा अधिकतम ६ महिनासम्म ग्रेड पिरियड दिने र उक्त समयमा पनि कम्प्लेक्स निर्माण सम्पन्न हुन नसकेमा वाणिज्य बैंकको चल्तीको ब्याजदरका हिसाबले लगानीकर्तालाई रकम दिनेसमेतको करारनामा गरिएको थियो ।
२०७२ सालको अन्तिममा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने भनिए पनि २०७२ सालमा भूकम्प आएपछि उक्त कम्प्लेक्स समयमै बन्न सकेन । त्यसपछि लगानीकर्तासँग २ वर्षको थप समय माग गरियो, त्यो पनि करारनामा विपरीत ब्याज नपाउने गरी । भूकम्प गएको समय भनेर लगानीकर्ताहरूले पनि विनाब्याज २ वर्ष समय थप गर्ने गरी सम्झौता गरिदिए । २०७४ को अन्तिममा निर्माण सम्पन्न गर्ने भनिए पनि निर्माण सम्पन्न हुँदा २०७६ साल लाग्यो । तर निर्माण सम्पन्न भइसके पनि डेभलपर्सले लगानीकर्तालाई सम्झौता बमोजिम सटर कवलहरू पास गरेर नदिएपछि लगानीकर्ताले जाहेरी दिएका हुन् ।
व्यापारिक कम्प्लेक्स निर्माण गरेर लालपुर्जासहित दिने भनी लगानीकर्ताबाट अर्बौं रकम उठाएर यो समूहले ऐयासी जीवन बिताएको र आफन्तहरूको नाममा घरजग्गा जोडेको पीडितको गुनासो छ । लगानीकर्ताबाट लगानी लिएर निर्माण गर्ने अनि बैंकबाट समेत ऋण लिएर आफन्तको नाममा सम्पत्ति जोडेर डेभलपर्सले साना लगानीकर्ताको बिचल्ली बनाएको आरोप छ । यद्यपि प्रहरीले सो विषयमा अनुसन्धान सुरुमात्रै गरेको कारण उनीहरूले कुनकुन आफन्तका नाममा कहाँकहाँ घर जग्गा जोडे वा कहाँकहाँ लगानी छ भन्ने अझै खुलेको छैन ।
२०८१ को वैशाखमा लगानीकर्ताहरूले बज्राचार्य लगायतलाई घेरेर आफ्नो लगानी फिर्ता मागेका थिए । तर बैंकको ऋण नतिरी रकम फिर्ता नगर्ने धम्की बज्राचार्यले दिएपछि पीडितहरू प्रहरीमा पुगेको खुलेको छ । ‘सटरहरू भाडामा दिने भनेर ठगी गरेको देखियो, हामीले केटीसी र एनबीटीसीका सञ्चालहरूलाई पक्राउ गरेर अनुसन्धान थालेका छौं,’ एसपी अधिकारीले भने, ‘पीडितहरूको जाहेरी थप आउने देखिन्छ ।’ जनधारणा साप्ताहिक