–निमकान्त पाण्डे
देशको संबिधान, राज्यका कानून र विभिन्न नीतिहरुलाई कार्यान्वयन गर्न निश्चित नागरिकहरुको समूह वा संगठन बनेको हुन्छ,जस्लाई राजनीतिक दल भनिन्छ । नेपाली उखान ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’ भनेजस्तै जहाँ धेरै मानिसहरु हुन्छन्, त्यहाँ फरक फरक विचार त हुने नै भयो । तर, राजनीतिक दल भने एउटा विचार, सिद्धान्तलाई आदर्श बनाएर अगाडि बढ्छन् । यद्यपि, यसमा समयसमयमा बहस र परिमार्जनको आवश्यकता भने सधैं भैरहन्छ । यो तब मात्र सम्भव हुन्छ, जब पार्टीमा फरक विचार वा मतलाई पनि स्वागत गरिन्छ, त्यसमाथि विमर्श गरिन्छ । यसले पार्टीलाई गतिशीलता पनि प्रदान गर्छ । विश्वको इतिहास हेर्दा नयाँ वैचारिक क्रान्तिले पार्टीको स्थापनामा मद्दत पु¥याएको छ । तर, तीमध्ये केही पार्टीमा केही नेताहरुको आगमनले वैचारिक विमर्श नै बन्द भएको पाइन्छ । जसले पार्टीले एउटा निरंकुशता सञ्चालन गरेका उदाहरण पनि प्रशस्त छन् । निरंकुशता देश, जनता वा पार्टी, सबैका लागि हानिकारक नै हुन्छन् र एक न एक दिन अवसान हुन्छन् । व्यक्तिको अवसानसँगै पार्टीको पनि अवसान खतरा हुन्छ । वैचारिक विविधता र विमर्श कुनै पनि पार्टीको सौन्दर्य हो । जुन पार्टीमा नेताहरुबीच फरक विचार रहन्छ त्यस पार्टीमा विचारको बहस हुन्छ र त्यो पार्टी गतिशील पनि रहन्छ ! जहाँ फरक विचार छैन त्यहाँ निरंकुशता छ भन्ने स्पष्ट हुन्छ ।
नेपालको सन्दर्भमा राजनीतिक दलहरु एक व्यक्तिकेन्द्रित देखिन्छन् । वामपन्थी दलहरुमा पनि नेतृत्व नै सर्वेसर्वा देखिन्छन् । चुनावमा टिकट दिने, गठबन्धन गर्ने, मन्त्री छान्ने, संघदेखि प्रदेश सरकारसम्म निर्माणका लागि निर्णय लिनेजस्ता अधिकांश महत्वपूर्ण निर्णयहरु पार्टीको नेतृत्वलाई जिम्मा दिइने गरिएको छ । त्यसैले नेपाली राजनीतिक दलहरुमा अहिले पनि अर्धनिरंकुशताको छनक पाउन सकिन्छ । तीमध्ये पनि यस आलेखमा भने हालका दुई महत्वपूर्ण वामपन्थी दलहरु एमाले र एकीकृत समाजवादी (एस) को बारेमा चर्चा गर्न लागिएको छ । एमालेबाट विभाजन भएर बनेको एसले आफ्नो पहिलो महाधिवेशन यही असारमा गर्दै छ । एमालेमा केपी शर्मा ओली र एसमा माधवकुमार नेपाल अध्यक्ष छन् । यी दुवै नेता पञ्चायतकालदेखि नै कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए । नेपालले महासचिव भएर लामो समयसम्म एमाले हाँके । त्यसपछि नेतृत्वमा आएका ओली अहिले एमालेमा निर्विकल्प सर्वोच्च नेताको रुपमा देखिएका छन् ।
ओली प्रधानमन्त्री हुँदा संसद विघटन गरेको निहुँमा पार्टी फुटाएका नेपाल एसमा पनि आफ्नो अध्यक्षताको निरन्तरताको प्रयासमा छन् । तर, दुवै पार्टीमा अहिले वैचारिक बहस भने ठप्पप्रायः भएको छ । यसको पुष्टि उनै नेताहरुको अभिव्यक्तिबाट पनि हुन्छ । हालै एक सार्वजनिक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरे । नेता, कार्यकर्ताहरुको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक लगायतका दस्तावेजहरु तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको उनको भनाइ थियो । मुलुकलाई समाजवादी बाटोमा दृढतापूर्वक अघि बढाउनका लागि आफूहरुले समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको पनि उनले उल्लेख गरे । तर, एसमा नयाँ विचार वा नयाँपुस्तालाई भने निषेधजस्तो वातावरण देखिन्छ । पार्टीको नेतृत्व तहमा ७० वर्ष नाघेका नेतालाई अब अवसर दिन नहुने नीति पारित गरे पनि नेपाललगायत नेताले फेरि उल्टाएका छन् । चार दशकदेखि पार्टी र देशको नेतृत्वसमेत गर्न भ्याएका नेपाल र एसका अर्का नेता झलनाथ खनाल फेरि अध्यक्षको दाबेदार देखिएका छन् । पार्टीमा नयाँ पुस्तालाई अवसर नदिएको भन्दै उनीहरुको आलोचना भए पनि आफ्नो हठबाट हट्ने संकेत देखिँदैन ।
यस्तै एमालेमा पनि ओलीको निर्णय सर्वेसर्वा देखिन्छ । पार्टीको गत महाधिवेशनदेखि पदाधिकारी चयनदेखि, निर्वाचन, गठबन्धन, टिकट वितरण, सरकारमा सहभागिता, सरकारको कुनै नीतिको विरोध वा समर्थनजस्ता विषयमा ओलीले निर्णय गर्ने जिम्मेवारी पाएका छन् । पार्टीमा वैचारिक विमर्श ठप्पप्रायः छ । ओलीको निर्णयको विरोध गर्ने वा फरक मत गर्ने नेता एमालेमा देखिँदैनन् । एमालेको गत महाधिवेशनमा ओलीको प्रतिस्पर्धामा उत्रिएका उनका प्रखर आलोचक भीम रावल अहिले पार्टीमा किराराकृत जस्तै भएका छन् । यसले ओलीको विरोध गर्दा राजनीतिक लाभ नपाउने डरका कारण पनि कुनै नेता उनको विरुद्धमा छैनन् ।
यसले पार्टीमा नयाँ विचार होस् वा नयाँ पुस्ताको आगमन ठप्पप्रायः छ । एमाले र एसमा फरक विचारलाई समाप्त गरेर नवसामन्तवादको जग बलियो बनाउन प्रयास गरिएको छ । यसले नेतालाई अराजक बनाईरहेको छ र नेता आवरणका अराजक व्यक्तिलाई निरंकुशतातर्फ अग्रसर गराउँदै लगेको छ । यो न पार्टीको हितमा छ, न त देश र जनताको हितमा नै । दशकौं पुरानो राजनीतिक दल एउटा व्यक्तिको सनकपनमा चल्ने अवस्था आउनु दुर्भाग्य हो । यसले सभ्य र समृद्ध राजनीतिक माहोल बिगार्ने मात्र होइन, व्यक्तिका साथै पार्टीको अवसान हुने निश्चित छ । पार्टीमा फरक विचारको सम्मान भएन भने त्यहाँ न त जबज रहन्छ, न जनबादी केन्द्रिएता रहन्छ न त समाजबादको गन्तब्यलाई पछ्याउनै सकिन्छ । एमालेमा बिकसित भएको बा संस्कृतिले त्यस पार्टी कता लाँदैछ भन्नेबारे चर्चा गर्नु कुनै अर्थ देखिदैन, त्यही अराजकताको रोग एस र माकेमा पनि बिस्तार हुन पुगेको छ । एसमा माधव काका संस्कार माकेमा प्रचण्ड बुवा संस्कार बिकसित भएको अवस्था छ । शीर्ष नेताहरु सच्चिएर जाने लक्षण देखाएका छैनन् र मातहतका नेताहरुको अवस्था पनि आशा लाग्दो देखिदैन । नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलै संकट देखिएको छ,सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक


