अछाम । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरी सोमबार राति सामूहिक बलात्कृत भएकी हुन् ।
किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मङ्गलवार बिहान अचेत अवस्थामा भेटिएकी थिइन् ।
उनलाई अचेत अवस्थामा देखेपछि मङ्गलवार बिहान स्थानीय एक जना किशोरीले प्रहरीलाई खबर गरेकी थिइन् । जानकारी लगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने लगायतले उनको उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएको थियो । अछाम जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनी बलात्कृत भएको पुष्टि भएको थियो ।
अस्पतालमा उपचार पश्चात् होसमा आएकी ती किशोरीले आफू माथि बलात्कार भएको बताएकी थिइन् । उनले स्थानीय १७ वर्षीय किशोर लगायत ३/४ जनाले बलात्कार गरेको बताएकी थिइन् । आँखा र घाँटीमा कपडाले बाँधेकोले अन्य व्यक्तिलाई आफूले चिन्न नसकेको पीडित किशोरीको भनाई छ ।
अछाम प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले मङ्गलवार बेलुकी घटनास्थल पुगेर घटनाबारे थप जानकारी लिएर अनुसन्धान अगाडी बढाइएको जनाएको छ ।