भक्तपुर । भक्तपुरको सिद्धपोखरीमा तीन दिनदेखि सञ्चालित खोज तथा उद्धार तालिमअन्तर्गत ‘अभ्यास मनसुन-४’ आज सम्पन्न भएको छ । सिद्ध पोखरीमा नेपाली सेनाको सूर्यविनायकस्थित श्री इन्द्रबक्स गणले आयोजना गरेको खोज तथा उद्धार तालिमअन्तर्गत ‘अभ्यास मनसुन-४’ आज सम्पन्न भएको हो ।
वर्षायामबाट हुने सम्भावित विपद्को क्षतिलाई न्यूनीकरण, रोकथाम तथा उद्धार गर्न दक्ष जनशक्ति उत्पादन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वय र सुरक्षा फौजको संयुक्त सहकार्यमा भक्तपुरको सिद्धपोखरीमा यही जेठ २१ देखि २५ गतेसम्म सञ्चालन भएको ‘अभ्यास मनसुन-४’ को आज समापन गरिएको छ ।
“मानिस डुब्न थाले, वरिपरिबाट मानिसहरु चिच्याउन थाले । पल्लो कुनामा डुब्नै लागेको एउटा झुपडीबाट पनि बचाउ बचाउको आवाज आउन थाल्यो । त्यसको केही बेरमै उद्धारकर्ता पोखरीमा फालहालेर डुबेकाहरुको गोताखोरले झै खोजी गर्न थाले । पोखरीको अर्को कुनाबाट फसेकाको उद्धार गर्न एक समूह र्याफ्टिङ बोटमा बसेर पुगे र उद्धार गरे”, यसरी प्रत्यक्ष अनुभव हुने गरी अभ्यास गरिएको नेपाली सेनाले जनाएको छ ।
आजको कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले यसवर्ष बाढीपहिरो, भूक्षय, डुबानलगायत जलजन्य प्रकोपको उच्च जोखिम रहेकाले खोज तथा उद्धारकर्ता तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । उद्धारकर्ताको सीप, ज्ञान र कौशलतालाई स्थानीय तहसम्म पर्याउनुपर्ने बताउँदै उहाँले स्थानीय सरकारले टोलटोलमा यस्ता जनशक्ति तयार पारेर राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा श्री १ नम्बर बाहिनी अङ्डाका बाहिनीपति सहायक रथी ध्रुवकुमार कार्कीले विपद् प्रतिकार्य अभ्यास सञ्चालन गर्दै विभिन्न विपद्को समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेनालगायतले पुर्याउने सहयोगलाई विस्तार गर्न अभ्यास उपलब्धिमूलक रहेको बताउनुभयो । उहाँले विपदमा पहिला पुग्ने स्थानीयवासी र स्थानीय सरकार भएकाले उहाँहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय तहले दक्ष जनशक्ति तयार पार्नुपर्ने बताउँदै विपदमा हुने जनधनको क्षति न्यूनीकरणमा सधैँ चनाखो भएर रहनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, जिल्ला रेडक्रस सोसाइटी, आरएनए १६ ग्रुपलगायत सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।