काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका-११ पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २३ किलोग्राम शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीलाई देख्नासाथ विष्णुपादुकाबाट धरानतर्फ जाँदै गरेको प्र.१- ०२-०५१ प ४७५६ नम्बरको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरूले मोटरसाइकल छोडेर फरार भए पश्चात मोटरसाइकल तलासी गर्दा २ वटा झोलामा रहेको उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-५ हनुमान मन्दिरस्थित कोल्ड ड्रिंक तथा मदिरा पसलबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो ४ सय ९९ ग्राम र नगद १ लाख ५ हजार १ सय ३० रूपैयाँ शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त पसलका संचालक महोत्तरी भंगाहा घर भएका ४२ वर्षीय रबिस कुमार साहले लागूऔषध गाँजा बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ रबिस कुमार पसलबाट भागी फरार भएपश्चात पसल तलासी गर्दा उक्त गाँजा फेला परेको हो ।
हाल फरार रबिस कुमारको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


