–प्रीति रमण
भारतसँगको सीमा क्षेत्रमा बस्ने नेपाली विभिन्न समस्याले वर्षौंदेखि पीडित छन् । खुला सिमानाका कारण सीमा वारपार आपराधिक गतिविधि नियन्त्रणमा ठूलो चुनौती हुँदै आएको छ । नेपालमा आपराधिक गतिविधि गरेर सहजै भारतमा गएर लुक्ने वा भारतबाट आएर नेपालमा आपराधिक गतिविधि गर्ने अनि भारत नै फर्किने कारणले तराई मधेसमा आपराधिक गतिविधि न्यूनीकरण हुन सकेको छैन । खुला सिमानाबाट वर्षौंदेखि दुवै मुलुकका नागरिकहरू आवत–जावत गरिरहेका छन् ।
नेपालका सीमावर्ती क्षेत्रका अधिकांश बासिन्दा भारतीय बजारमा निर्भर छन् । सीमामा बस्नुको दुइटा पाटा छन्, सुख पनि दुःख पनि । भारतसँग जोडिएका नेपाली गाउँबस्तीहरूको भारतीय गाउँहरूसँग सम्बन्ध एकैनासको छैन । भौगोलिक रूपले दुई देशका वासिन्दा भए पनि सामाजिक, सांस्कृतिक रूपमा एकैखाले सम्बन्ध रहँदै आएको छ । उनीहरूबीच रोटी र बेटीको सम्बन्ध पनि छ । ।।।खुला सीमा हुनु अनि सीमा जोडिएका गाउँबस्ती हुनुको सकारात्मक र नकारात्मक दुबै पक्ष छ । सीमा जोडिएकै कारण आपराधिक गतिविधिमा संलग्नता र चोरी–पैठारीमा सक्रिय हुनेहरूको संख्या पनि उल्लेख्य रहेको छ । दुबै मुलुक आवत–जावत गर्नेको अत्यधिक भीड, सवारी जाम, यात्रु तानातान, लुट, अवैध असुली, चोरी, भन्सार छली र तस्करी लगायत विकृति छन् । वर्षांैदेखि खुलेआम लागूऔषध सेवन र खरिद–बिक्री भइरहेको छ । वर्षायाममा भारतीय पक्षले कानुन मिचेर बनाएका बाँधका कारण सीमा क्षेत्रका गाउँमा हुने डुबानका समस्या त उस्तै छन् ।
यस्तै, तराई मधेसमा अहिले लुटपाटका घटना पनि बढिरहेका छन् । गत वैशाख २४ गते जनकपुरधाममा दिनदहाडै हतियारधारी तीन जनाको समूहले सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेर फरार भए । जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा भएको लुटपाटको घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिकसमेत ग¥यो । घटनामा ८ जनाको संलग्नता देखिए पनि दुई जना पक्राउ परेपछि धनुषा प्रहरीले अधुरो अनुसन्धानको भरमै उनीहरुलाई वैशाख ३० मा सार्वजनिक ग¥यो । वैशाख २४ मा धनुषाको सबैला नगरपालिका–१२ मा रहेको श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले जनकपुरधामस्थित हिमालयन बैंकबाट ९० लाख रुपैयाँ झिकेका थिए । उनले १० लाख जनकपुरधाममै खर्च गरेर ८० लाख लिएर जाँदै गर्दा बाटोमा उनको रुपैयाँ लुटियो । यस्तै, गत चैत २५ मा दिउँसोको समयमा हतियार देखाएर सिरहामा मनि ट्रान्सफरको रकम लुटियो । विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट नै हतियार देखाएर उक्त रकम लुटियो । भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर नगदसहित २ थान ग्लोबल आईएमई बैंकको र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खाली चेक र मोबाइलसमेत लुटेर फरार भएका थिए ।
यी प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय मधेस प्रदेशका जिल्लाहरुमा दिनदहाडै हुने लुटपाटको घटनामा वृद्धि भएको छ । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्र १५ वटा डाँका तथा चोरीको घटना दर्ता भएका छन् । यस्ता घटनाहरुले तराई मधेसको सुरक्षा व्यवस्थामा चुनौती थपिएको छ । नेपालको भारतसँग करिब १ हजार ८ सय ८० र चीनसँगै करिब १ हजार ४ सय १४ किमि सीमा लम्बाइ छ । त्यसमध्ये नेपालको दार्चुलामा पर्ने कालापानी, लिपुलेक, लिम्पियाधुरा, नवलपरासीको सुस्ता भारतीय अतिक्रमणमा परेका छन् । भारतले कालापानी र सुस्ता दुवै भूभाग विवादित क्षेत्र मान्दै आएकामा २०७६ कात्तिकमा कालापानीदेखि लिम्पियाधुरासम्मलाई एकलौटी रूपमा आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सामा राखेको थियो । यी दुवै विषयमा नेपालले कूटनीतिक नोट पठाए पनि भारतले गम्भीरतापूर्वक लिएको छैन । तर, सीमा विवाद समाधान र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा वार्ता हुन सकेको छैन ।
परिस्थिति जस्तोसुकै विकराल र जटिल भए पनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ तुल्याउन सीमा क्षेत्रमा हुने अवान्छनीय गतिविधिको निगरानी तथा नियन्त्रण गर्न सम्बद्ध सबै पक्ष चनाखो हुनुपर्छ । राज्यको क्षमता वृद्धि गर्नु तथा सीमा क्षेत्रमा आउने सुरक्षा निकायलाई विशेष प्रशिक्षण दिने, सीमा क्षेत्रमा सामानान्तर सडकको व्यवस्था गरी पेट्रोलिबको व्यवस्था गर्ने, सीमा सुरक्षा बलको चौकीलाई अत्याधुनिक साधनस्रोत बनाउने, सीमा क्षेत्रमा आर्थिक पछौटेपनलाई समाप्त गर्न प्याकेजका कार्यक्रम ल्याउने, नागरिकमा खुला सीमाको उपयोग गर्ने दायित्वको चेतना जगाउने आवश्यक छ । यसैगरी सीमा क्षेत्रमा हुने अस्वाभाविक गतिविधिलाई बेलैमा जनाउ दिने काम गर्न सकिन्छ । यस्तो भावनाको विकास भयो भने गलत मनसायका मानिसहरूले नागरिकता बनाउने, आश्रय लिने, फिरौतीका लागि मानिसलाई थुनेर राख्नेजस्ता काम हुँदैन । त्यसैगरी भारतीय समकक्षी विभिन्न चरणको समन्वय गर्न सकिन्छ।
बैठकहरू र छलफलका निष्कर्ष वा सम्झदारीहरूलाई संस्थागत स्मृति पत्रमा राख्नुपर्दछ । पछिल्ला समयहरूमा केही राम्रा संकेतहरू देखिएका छन् । सीमा क्षेत्रमा प्रहरी प्रशासनको संयुक्त बैठकहरू बसेका छन् । जनस्तरमा आफ्नो दायित्वका क्रममा देखाएको सकारात्मक पहलहरूलाई प्रोत्साहन दिनु जरुरी छ ।