मोरङ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल कोशी प्रदेश समितिले ११ जना प्रदेशका पदाधिकारीलाई निष्काशन गरेको छ।
मंगलबार पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले प्रदेशका कोषाध्यक्षसहित ११ जनालाई पार्टी हित विपरीत काम गरेको जनाउँदै कारबाही गरेको जानकारी दिए।
प्रदेश कोषाध्यक्ष केशरमान गुरुङ, प्रदेश निर्वाचन आयोग अध्यक्ष विनोद नेम्वाङ, प्रदेश लेखा परीक्षण आयोग अध्यक्ष केवलराम राई, प्रदेश कार्यकारिणी समिति सदस्यद्वय राम मान्डुप्पा र मिना राई, प्रदेश सदस्य मनकला लङ्वा, रिता राई, सनम राजवंशी, लिलाबहादुर सुनुवार, गौरीमान राई र मिरा कार्कीलाई कारबाही गरिएको उनले जानकारी दिए।
नेम्वाङ जसपा नेपालबाट इलामको माङ्सेबुङ गाउँपालिकामा निर्वाचित उपाध्यक्ष हुन् भने लङ्वा धनकुटा नगरपालिकाकी कार्यपालिका सदस्य हुन्। उनी नेपाली कांग्रेस र जसपा नेपालको चुनावी तालमेलमार्फत धनकुटा वडा नम्बर १ मा महिला सदस्य निर्वाचित भएकी थिइन्।
झापाकी राजवंशीले जसपा नेपालको सिफारिसमा भूमि आयोगको जिल्ला सदस्यका रूपमा दुई वर्ष सुविधा भोग गरेकी थिइन्। त्यस्तै, गौरिमान राईलाई भने जसपा नेपाल प्रदेश १ ले केही महिना अगाडि मात्रै प्रदेश युवा तथा खेलकुद समितिमा सदस्य बनाएको हो।