काठमाडौं । यार्सागुम्बा टिप्नको लागि डोल्पा गएकी रुकुमपश्चिमको एक युवतीको मृत्यु भएको छ। आठविसकोट नगरपालिका ४ गोतामकोट विष्ट गाउँ निवासी २२ वर्षीया जमुना विष्टको सोमबार डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला मृत्यु भएको वडा अध्यक्ष नरसिं विष्टले जानकारी दिए।
वडा अध्यक्ष विष्टका अनुसार यार्सागुम्बा टिप्नको लागि डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला जमुना लेक लागेर बिरामी भएकी थिइन्। उनको साथमा रहेकी कान्छी बहिनी सरस्वती विष्टसहित घर फर्कँदै गरेको बेला बाटोमै उनको मृत्यु भएको हो।
वडा अध्यक्ष विष्टले जमुनाको शव जिल्ला अस्पताल डोल्पामा ल्याएर पोस्टमार्टम गरिने र त्यसपछि गोतामकोट ल्याइने तयारी गरिरहेको बताए। जमुनाको घरमा अहिले आमा एक्लै छन्। बुवा र दाइ रोजगारीको सिलसिलामा भारत गएका छन् भने जेठी दिदीको विवाह भइसकेको छ। कान्छी बहिनी र अन्य नातेदारहरूको साथमा यार्सागुम्बा टिप्न डोल्पा गएकी थिइन्।