सिराहा । पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ सिरहा शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ। सोमबार पत्रकार महासंघ केन्द्रीय कार्यालयले सदस्यता शुद्धीकरणको नाममा क्रियाशील पत्रकारहरूको सदस्यता हटाएको विरोधमा समाजवादी प्रेस संगठन सिरहा तथा जिल्लाका सक्रिय पत्रकारहरुले तालाबन्दी गरेको हो।
पत्रकार महासंघ केन्द्रले गैर पत्रकारलाई सदस्यता दिएको र पत्रकारिता गरिरहेकाहरुलाई वाइपास गरेको विरोधमा सिरहा शाखामा तालाबन्दी गरेको समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष जयनाथ यादवले जानकारी दिए ।
पत्रकार महासंघ सिराहाले ६५ जनाको नाम नविकरण गर्न पठाएकोमा ४२ जना र नयाँ सदस्यताको लागि ४२ जनाको नाम सिफारिस गरि पठाएकोमा २२ जनाको नाम मात्र आएकोले सक्रिय पत्रकार सदस्यहरूको नवीकरण गर्न केन्द्रमा सिफारिस गरिएकोमा शुद्धीकरणको नाममा सदस्यता हटाएको र पत्रकारिता गरिरहेकाहरुलाई केन्द्रले वाइपास गरेको सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवले बताए।
जिल्ला शाखाबाट पठाएको नामावलीलाई हुबहु कार्यन्वयन गरी सदस्यता, नविकरण नसच्याए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिए । माग सम्बोधन नभए पत्रकार महासंघका केन्द्रीय कार्यालयले गरेको गैरजिम्मेवार कदमविरुद्ध जिल्लाका पत्रकारहरू जस्तोसुकै कदम चाल्न बाध्य हुने र त्यसबाट सिर्जित बिषम् परिस्थितिको जिम्मेवारी पत्रकार महासंघ प्रदेश र केन्द्रीय कार्यालयले लिनुपर्ने चेतावनीसमेत दिएको छ।
समाजवादी प्रेस संगठनले पत्रकार महासंघ केन्द्रीय कार्यालयमा पनि सोमबार तालाबन्दी गरेको छ ।